२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • ८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत्...

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

सहर्ष न्युज
बुधवार, पौष १० २०८१
सहर्ष न्युज
बुधवार, पौष १० २०८१
  • काठमाडौं : नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

    अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।

    गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न  गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।

    upper tamakoshi hydro 1.jpeg
    undefined

    दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ ।

    पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ ।

    जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहनु भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।  

    कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताउनुभयो ।

    ‘डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन, विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिक रुपमा विद्युत् उत्पादन गर्न सफल भएका छौं’, घिसिङले भन्नुभयो । ‘देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’\

    upper tamakoshi hydro 3.jpeg
    undefined

    कम्पनीका सिइओ मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझावहरुलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरी कार्ययोजनाकासाथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगनबाट तोकिएको दिनभन्दा अगाडिनै विद्युत् उत्पादन गर्न सफल भएको बताउनुभयो । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको सिइओ गौतमले उल्लेख गर्नुभयो ।

    जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दावी गरेको थियो । कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।

    upper tamakoshi hydro 2.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend