२०८३ भाद्र २७ गते शनिवार

images

सुस्तामा नदी कटान नियन्त्रण गर्न कार्य सुरु, सिँचाइ विभागका महानिर्देशक सहित प्राविधिक टोली स्थलमा

सुस्तामा नदी कटान नियन्त्रण गर्न कार्य सुरु, सिँचाइ विभागका महानिर्देशक सहित प्राविधिक टोली स्थलमा

बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ। नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको तीव्र कटान रोक्न बाँसको जाली (पोर्कुपाइन) तथा बालुवा र ढुङ्गा भरिएका बोराहरू प्रयोग गरी आपत्कालीन संरक्षण कार्य सुरु गरिएको छ। सिँचाइ विभागका महानिर्देशक डाक्टर महेश्वर श्रेष्ठ, उपमहानिर्देशक तथा प्राविधिक टोलीले सुस्ता क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दा र सरोकारवालासँगको छलफलपछि यो कार्य अघि बढाइएको हो। नदीले धार परिवर्तन गरी गाउँतिरै बग्ने जोखिम देखिएपछि नवलपरासीका प्रतिनिधि सभा सदस्य बिक्रम खनालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग टेलिफोन संवाद गरी तत्काल हस्तक्षेपको आग्रह गरेपछि यी सबै पहल तीव्र बनेका हुन्।

    लगातारको नदी कटानका कारण सुस्ताका तटीय बस्ती, खेतीयोग्य जमिन र स्थानीय बासिन्दाको जनजीवन गम्भीर खतरामा परेको जानकारी मन्त्रीज्यूलाई गराइएको थियो। साथै आपतकालीन काम अन्तर्गत तटबन्ध निर्माण तथा नदी नियन्त्रणसम्बन्धी कार्यहरू अविलम्ब अघि बढाउन समेत अनुरोध गरिएको थियो।

    यसमा तत्काल प्रतिक्रिया जनाउँदै मन्त्री श्रेष्ठले सुस्ताको अवस्थाप्रति सरकार गम्भीर रहेको बताउनुभयो र सम्बन्धित प्राविधिक निकायलाई तुरुन्त परिचालन गरी आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनु भएको थियो।

    मन्त्रीस्तरीय ध्यानाकर्षणपछि सिँचाइ विभागका महानिर्देशक, उपमहानिर्देशक तथा प्राविधिक टोली तत्काल स्थलगत निरीक्षणका लागि सुस्ता क्षेत्र पुगेका थिए। टोलीले स्थानीय बासिन्दा तथा सरोकारवालासँग छलफल गर्दै नदी कटान नियन्त्रणका सम्भावित उपायहरूबारे अध्ययन गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend