२०८३ श्रावण १८ गते सोमवार

images
  • समाचार
  • जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशकको पहिलो...

जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशकको पहिलो अनुगमन : सिक्टाको डुडुवा नहरमा तीव्र गतिमा काम

जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशकको पहिलो अनुगमन : सिक्टाको डुडुवा नहरमा तीव्र गतिमा काम

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागको नेतृत्वमा भर्खरै भएको फेरबदलपछि नयाँ महानिर्देशकले आफ्नो पहिलो क्षेत्रीय भ्रमण राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइतर्फ केन्द्रित गर्नुभएको छ। विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठले बाँके जिल्लामा रहेको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको डुडुवा शाखा मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको हो।

    केही समयअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभागको नेतृत्वमा परिवर्तन गर्दै तत्कालीन महानिर्देशक मित्र बराललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो। सोही स्थानमा मन्त्रालयको कार्यक्रम, बजेट तथा अनुगमन महाशाखाको नेतृत्व गरिरहनुभएका सहसचिव डा. महेश्वर श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो। जिम्मेवारी सम्हालेको केही दिनभित्रै उहाँले आफ्नो पहिलो अनुगमन भ्रमणका लागि सिक्टा सिँचाइ आयोजनालाई रोज्नुले यो आयोजनाप्रति सरकारको उच्च प्राथमिकता झल्काउँछ।

    dg pp.jpg
    जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशकको पहिलो अनुगमन

    सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर आयोजनाकै एक महत्त्वपूर्ण संरचना मानिन्छ। करिब २३ किलोमिटर लम्बाइको यस नहरबाट मूल नहरको पानी झिकेर खजुरा र मानपुर गरी दुई प्रमुख उपशाखामार्फत सिँचाइ सुविधा पुर्‍याइने योजना छ। नेपालगन्ज–सुर्खेत सडकखण्डमुनि पर्ने केही भाग सुरुङ (टनेल) मार्फत र बाँकी भाग खुला संरचनामा निर्माण भइरहेको छ, जसको जिम्मेवारी एक निर्माण कम्पनीले करिब एक अर्ब १२ करोड रुपैयाँको लागतमा पाएको छ।

    यो नहर पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुग्ने प्रक्षेपण गरिएको छ। यसबाट बाँकेको डुडुवा, खजुरा, नेपालगन्ज र जानकी लगायतका क्षेत्रका किसानले वर्षभर खेतीयोग्य पानी पाउने अपेक्षा गरिएको छ। हाल धेरै किसान वर्षायाममा मात्रै खेती गर्न बाध्य रहेको र हिउँदमा पानीको अभावमा खेत बाँझो रहने गरेको स्थानीय जल उपभोक्ता निकायहरूको भनाइ छ।

    सिक्टा सिँचाइ आयोजनाको समग्र भौतिक प्रगति हाल करिब आधा (५५ प्रतिशत हाराहारी) पुगेको छ। यसअघि आयोजनाको परीक्षण चलाउँदा एउटा नहर भत्किएको घटनाले पनि आयोजनाको गुणस्तर र निर्माण प्रक्रियामाथि प्रश्न उठेको थियो, जसको छानबिनका लागि मन्त्रालयले समिति समेत गठन गरेको थियो। यस्तो परिस्थितिमा नयाँ महानिर्देशकले आफ्नो कार्यकाल सुरु हुनासाथ प्रत्यक्ष रूपमा नहरको अवस्था नियाल्न पुग्नुले निर्माण गुणस्तर र समयसीमा दुवैमा विभागको ध्यान रहेको सन्देश दिएको छ।

    विज्ञहरूका अनुसार डुडुवा जस्ता शाखा नहरहरू समयमै सम्पन्न भएमा मात्र मूल नहर निर्माणको समग्र लगानी र उद्देश्य सार्थक हुन्छ, किनभने अन्तिम लाभ किसानसम्म शाखा र उपशाखा नहरहरूमार्फत नै पुग्ने हो। यसैले महानिर्देशकको यो भ्रमणलाई आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend