रसुवा : ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको बहाव सामान्य अवस्थामा फर्किएमा सोमबारबाट पुनः उत्पादन सुरु गर्ने तयारी रहेको उनले बताए।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको आयोजनामा पुनः क्षति पुग्न सक्ने जोखिमका कारण सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।
रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ। अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उनले जानकारी दिए।
यता, भोटेकोशी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक तथा नयाँ आयातित सवारीसाधन तत्काल सुरक्षित स्थानमा सारिएको छ। यार्डको उत्तरी भागबाट बाढी पस्ने जोखिम रहेकाले थप तटबन्ध निर्माण र सुरक्षा व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि)सँग चालकहरूले माग गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा नदी किनारमा सवारीसाधन नराख्न स्थानीयवासीलाई आग्रह गरेका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य क्षेत्रमा उल्लेखनीय क्षति पुर्याएको छैन।
मैलुङ सडकखण्ड जोखिममा परेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न आग्रह गरेका छन्।
लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, विपद्सम्बन्धी कुनै पनि आकस्मिक अवस्था देखिएमा निःशुल्क आपत्कालीन नम्बर १२३४ मा तत्काल जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रशासनले अपिल गरेको छ।
