२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • उद्धार नभएको १३ औं दिन, त्रिशुली...

उद्धार नभएको १३ औं दिन, त्रिशुली ‘३ बि’ का पीडित परिवार माइतीघरमा जम्मा

उद्धार नभएको १३ औं दिन, त्रिशुली ‘३ बि’ का पीडित परिवार माइतीघरमा जम्मा

सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं। त्रिशुली ‘३ बि’ जलविद्युत् आयोजनाको क्याम्पमा फसेका आफन्तको खोजी तथा उद्धारको माग राख्दै पिडित परिवारका सदस्यहरू माइतीघर मण्डलामा जम्मा भई शान्तिपूर्ण आव्हान गरेका छन्। घटना भएको १३ दिन बितिसक्दा पनि सरकारी निकायबाट ठोस काम नभएको गुनासो परिवारजनहरूले गरेका छन्।

    फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्न भारी मेसिनरी तथा उपकरण तत्काल परिचालन गरिनुपर्ने माग राख्दै परिवारका सदस्यहरूले सरकारसँग विशेष अनुरोध गरेका छन्।

    आफ्नो आफन्त क्याम्पमा फसेका एक परिवारका सदस्यले माइतीघरमा भने— सरकारी निकाय होस् या सरकार स्वयं, कसैसँग पनि उनीहरूको हालसम्म कुनै सूचना आदानप्रदान हुन सकेको छैन। गृह मन्त्रालयले रेस्क्यु भइरहेको मात्र भन्ने गरेको तर त्रिशुली ‘३ बि’ सम्बन्धी कुनै अद्यावधिक जानकारी समाचारमा समेत नआउने गुनासो उनले गरे। अन्यत्र कतै सुनुवाइ नभएपछि नै आफूहरू माइतीघरसम्म आई अनुरोध गर्न बाध्य भएको उनले बताए।

    "गृहमन्त्री–प्रधानमन्त्रीलाई हामी चिन्दैनौं, त्यसैले उद्धार भएन" अर्का एक आक्रोशित परिवारका सदस्यले भने— "गृहमन्त्रीलाई हामी चिन्दैनौं, प्रधानमन्त्रीलाई पनि चिन्दैनौं, त्यही भएर हाम्रा मान्छेको उद्धार हुन सकेको छैन।" यो अभिव्यक्तिले विपद्को समयमा पहुँचविहीन सर्वसाधारण परिवारले भोगेको निराशा र असहायताको अवस्था छर्लंग पार्छ।

    com.jpg


    गत भदौको सुरुतिर रसुवा हुँदै बगेको भोटेकोशी नदीमा आएको भीषण बाढीले त्रिशूली करिडोरका विभिन्न जलविद्युत् आयोजनालाई गम्भीर क्षति पुर्‍याएको थियो, जसमा त्रिशूली ‘३ ए’ र ‘३ बि’ दुवै आयोजना पर्छन्। ‘३ ए’ मा फसेकाहरूको हकमा दश दिनपछि सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो, जबकि उही सुरुङबाट एक जनाको शव समेत फेला परेको थियो। यसले अन्य आयोजनामा फसेकाका परिवारजनको चिन्ता झनै बढाएको छ।

    यस्तै परिस्थितिका बीच त्रिशुली ‘३ बि’ मा उद्धारका लागि उत्खनन् मेसिन (एक्स्काभेटर) पुर्‍याइए पनि, त्यहाँ फसेकाहरूको हकमा प्रगति सुस्त रहेको र उद्धार पूरा नभएको अवस्था छ। परिणामस्वरूप ‘३ बि’ मा आफन्त फसेका परिवारहरू हरेक दिन आशा र निराशाको दोसाँधमा गुज्रिरहेका छन्, र अन्ततः आफ्नो पीडा राख्न उनीहरू माइतीघरसम्म आइपुगेका हुन्।

    माइतीघरमा भेला भएका परिवारजनहरूले आफ्नो माग नसुनिएसम्म शान्तिपूर्ण किसिमले आव्हान जारी राख्ने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend