काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम पनि जोडिएको पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्कीको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा १९ जनाविरुद्ध थप अभियोजन दर्ता गराएको छ। तीमध्ये जीबी राई भनिने गितेन्द्रबाबु राई पनि रहेको बुझिएको छ।
"यसअघि नै प्रतिवादी बनाइएका १९ जनाविरुद्ध आज थप पूरक अभियोगपत्र दर्ता हुन आयो," कास्की जिल्ला अदालतका निमित्त स्रेस्तेदार खेमनारायण लामिछानेले भने। उनका अनुसार पुरानो बिगो १ अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा ४० करोड थपिएको छ।
निमित्त स्रेस्तेदार लामिछानेका अनुसार रवि लामिछानेसहितका अन्य नयाँ आरोपितलाई "प्रतिवादी कायम गरी अभियोगपत्र आउन बाँकी" छ।
उनले भने, "१९ जना प्रतिवादीलाई नै सहकारीको दफा थप र बिगो थप १९ जनामध्ये १६ जनालाई माथि उल्लिखित सहकारीको दफा थप र बिगो थपसहित सङ्गठित अपराधको दफा थप गरिएको छ।"
