२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • त्रिशूलीमा हराएकामध्ये १४ जनाको शव फेला,...

त्रिशूलीमा हराएकामध्ये १४ जनाको शव फेला, बस अझै फेला परेन

त्रिशूलीमा हराएकामध्ये १४ जनाको शव फेला, बस अझै फेला परेन

सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
  • सहर्ष न्युज, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १४ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन्। तर हराइरहेका बस अझै फेला परेका छैनन्।

    भेटिएका शवमध्ये सातवटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बीबीसीलाई बताएका छन्।

    उनका अनुसार सनाखत भएका सात शवमा तीन वटा भारतीय नागरिकका हुन्। अरू मृतक नेपाली नागरिक हुन्।

    हराइरहेका अन्य यात्रु तथा दुवै बसको खोजी कार्य सोमवारलाई स्थगित गरिएको र अब मङ्गलवार जारी रहने अधिकारीहरूले बताए।

    त्रिशूली नदीमा हराइरहेका यात्रुहरूको खोजी कार्य जारी छ
    काठमाण्डूबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेका दुई बस शुक्रवार सबेरै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए ।

    दुवै बस फेला पर्न सकेका छैनन्। ती बसमा कम्तीमा ६५ जना चढेको बताइएको छ।

    यसअघि अधिकारीहरूले कम्तीमा ५१ जना यात्रु रहेको बताएका थिए। सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डूबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए।

    यात्रुका आफन्तहरूले दिएको पछिल्लो जानकारीअनुसार बसमा चढेका मानिसको सङ्ख्या बढी रहेको देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी यादवले बताए।

    अधिकारीहरूले केही शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का व्यक्त गरेका छन्।

    सुरक्षाकर्मीहरूले शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका भन्ठानिएका कपडा मात्रै फेला पारेका थिए।

    अँध्यारो भएपछि खोजी कार्य गर्न नसकिने भन्दै शुक्रवार साँझ रोकिएको अभियान शनिवार बिहान सुरु भएको थियो। शनिवार सुरक्षाकर्मीहरूले तीन जनाको शव फेला पारे। आइतवार खोजीको क्रममा थप तीन शव फेला परे।

    सोमवार बिहानसम्म कुल ११ वटा शव फेला परेका छन्। तीमध्ये दुइटा शव नेपाली सीमा पार गरेर गण्डक नहरको भारततर्फको क्षेत्रमा पुगेको पाइएको अधिकारीहरूले जानकारी दिए।

    हाल फेला परिरहेका शवहरू दुर्घटनास्थलभन्दा निकै तल पर्ने क्षेत्रहरूमा पनि पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार सोमवार बिहानैदेखि खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

    त्यस्तै विभिन्न उपकरणसहित गोताखोरहरूले पनि खोजीलाई जारी राखेका छन्।

    सोमवार घटनास्थलभन्दा ५० किलोमिटरभन्दा तल्लो भेगमा सुरक्षाकर्मीहरूलाई विभिन्न समूहमा खटाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

    खोजीका लागि र्‍याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएको जनाइएको छ।

    तर पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामरा खासै उपयोगी नभएको अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend