२०८३ श्रावण ११ गते सोमवार

images
  • पर्यटन
  • नेपालमा खर्चालु पर्यटक भित्र्याउन खर्चमैत्री नीति...

नेपालमा खर्चालु पर्यटक भित्र्याउन खर्चमैत्री नीति ल्याउन होटल सञ्चालकको जोड

नेपालमा खर्चालु पर्यटक भित्र्याउन खर्चमैत्री नीति ल्याउन होटल सञ्चालकको जोड

सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
  • सहर्ष न्युज, काठमाडौं । पाँचतारे होटल सञ्चालकहरूले नेपालमा खर्चालु पर्यटक भित्र्याउन खर्चमैत्री नीति आवश्यक रहेको बताएका छन् ।

    आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा होटल उद्योगको अपेक्षाबारे होटल एसोसिएसन नेपाल (हान) अन्तर्गतको पाँचतारे होटल समितिले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले नेपालमा खर्चालु पर्यटक भित्र्याउने हो भने सोही अनुसार कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए ।

    कार्यक्रममा होटल सांग्रिलाका प्रबन्ध निर्देशक प्रविणबहादुर पाण्डेले मुद्रा सटहीमा रहेको प्रतिदिन ३ सय अमेरिकी डलरको सीमा बढाउनुपर्ने बताए ।

    होटललाई डलर सटही सुविधा दिएसँगै यो सीमितता राखिएको भन्दै उनले यसबाट क्यासिनोको बिजनेसमा समेत असर पुगेको बताए । पर्यटकले नेपालमा खर्च गर्ने भएकाले यो सीमा आवश्यक नरहेको उनको भनाइ छ ।

    सन् २०२० लाई लक्षित गरी होटल व्यवसायमा लगानी भएको र कोभिड महामारीले यस क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको भन्दै उनले मौद्रिक नीतिले यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।

    सन् २०२३ पछिमात्र पर्यटनमा सुधार आएको र पछिल्लो समय बंगलादेशका नागरिकको आगमन बढेको बताए । सोहीकारण अब नेपालमा बंगालादेशी मुद्रा टाकामा कारोबार गर्न सक्ने गरी प्रावधान ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

    काठमाडौं मेरिअट सञ्चालक शशिकान्त अग्रवालले भारतीय मुद्रा खर्च गर्ने सीमा २५ हजारमात्र रहेका कारण यसमा सुधार गर्नुपर्ने बताए ।

    उनले भारतीय पर्यटकको खर्च बढाउने हो भने नगद बोक्न पाउने सुविधा २ लाखसम्म पुर्‍याउन सुझाव दिए । अहिले भारतबाट आउने पर्यटकको साथमा आउने ५ सय नेपालमा औपचारिक नचल्ने र अवैध रूपमा भने सटही भइरहेको उनले बताए ।

    ‘यसले मुलुककै छवि बिग्रिरहेको छ,’ अग्रवालले भने, ‘१ सयको अर्थ धेरै कम भइरहेको छ । ठूला नोट समेत चल्न सक्ने हो भने भारतीयको खर्च बढ्न सक्छ ।’

    होटल हिमालयका प्रबन्ध निर्देशक दिनेश तुलाधरले कोभिडको प्रभाव होटल उद्योगमा अझै पनि कायम रहेको बताए । उनले हजारौं रोजगारी सुरक्षा गर्ने हो भने होटल उद्योगीको ऋण पुनर्तालिकीकरण गर्नुपर्ने सुझाव दिए ।

    त्यसैगरी होटल मेची क्राउन सञ्चालक बलराम सापकोटाले भारतीय पर्यटकलाई खर्चमा सीमा लगाउँदा नेपाली उद्योग समस्यामा परेको बताए । सरकारले करोडौं रोयल्टी तोक्ने तर खर्चमा सीमा तोक्ने काम व्यावहारिक नभएको उनको भनाइ छ ।

    यसैबीच होटल सञ्चालकहरूले काठमाडौ लगायत विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ड्युटी फ्री’ पसल राख्न समेत सुझाव दिए । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छुट दिएर पर्यटक आकर्षित गर्नुपर्ने उनीहरूको सुझाव छ ।

    काठमाडौंमा नयाँ टर्मिनल भवन बनाउने हो भने वार्षिक ३५ लाख तथा पोखरा र भैरहवाबाट वार्षिक १०/१० लाख पर्यटक भित्र्याउन सक्ने पूर्वाधार बनिसकेको होटल सांग्रिला सञ्चालक पाण्डेले बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend