सिमकोटबाट दुई दिनमै पुगेर फर्किन सकिने भएपछि हुम्लाको लाप्चा क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि
हुम्ला : सरकारले लगातार दुई दिन सार्वजनिक बिदा दिएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको लाप्चा क्षेत्रबाट मानसरोवर–कैलाश दर्शन गर्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार आइतबार सार्वजनिक बिदा परेसँगै लगातार दुई दिनको समय सदुपयोग गर्दै विशेषगरी सरकारी तथा निजी क्षेत्रका कर्मचारी र आन्तरिक पर्यटक लाप्चातर्फ आकर्षित भएका छन्।
गत जेठ महिनाको अन्तिमदेखि आन्तरिक तथा विदेशी पर्यटकका लागि खुला गरिएको लाप्चा क्षेत्र अहिले मानसरोवर–कैलाश दर्शनका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ।
स्थानीयका अनुसार सामान्य समयमा पनि पर्यटक पुग्ने गरे पनि दुई दिनको लगातार बिदाले पर्यटकको चाप अझ बढाएको छ। सिमकोटबाट लाप्चा पुगेर मानसरोवर–कैलाशको दर्शन गरी दुई दिनमै फर्किन सकिने भएकाले छोटो समयमै धार्मिक तथा प्राकृतिक भ्रमण गर्न चाहनेहरूका लागि यो गन्तव्य आकर्षक बनेको हो।
विशेषगरी शनिबार सिमकोटबाट आठदेखि १० वटा बोलेरो जिप लाप्चातर्फ प्रस्थान गर्ने गरेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल हिमाल रोकायाले दुई दिने बिदाको अवसरमा सात जनाको टोलीसहित लाप्चा भ्रमणमा निस्किएको बताउँदै छोटो समयमै अविस्मरणीय यात्रा गर्न सकिने भएकाले यस्तो अवसरको सदुपयोग गर्न सजिलो भएको उल्लेख गरे।
लाप्चा यात्रामा पहिलो दिन टाक्ची वा तुम्लिङमा बास बसेर दोस्रो दिन बिहान करिब साढे दुई घण्टाको यात्रा पछि लाप्चा पुग्न सकिन्छ। त्यहाँबाट मानसरोवर–कैलाशको दर्शन गरी सोही दिन सिमकोट फर्किने सुविधा रहेको छ। हाल ती स्थानमा पर्यटकका लागि होटल तथा बासको व्यवस्था भएपछि यात्रा थप सहज बनेको स्थानीयको भनाइ छ।
लाप्चा पुग्ने पर्यटकमा भारतबाट पैदल मार्ग हुँदै आउने भारतीय पर्यटकसँगै काठमाडौँ, पोखरा, चितवन, विराटनगरलगायत विभिन्न जिल्लाबाट पुग्ने नेपाली पर्यटक पनि रहेका छन्। यद्यपि हालसम्म लाप्चा भ्रमण गर्ने पर्यटकको आधिकारिक तथ्याङ्क भने राखिएको छैन। स्थानीयका अनुसार पछिल्लो समय आन्तरिक र विदेशी दुवै प्रकारका पर्यटकको आगमन निरन्तर बढ्दै गएको छ।
