काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले न्यूनतम यात्रु सङ्ख्या नपुग्दा देशका सबै विमानस्थल नियमित रूपमा सञ्चालन गर्न नसकिएको स्पष्ट पार्नुभएको छ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा विभिन्न जिल्लाका विमानस्थल लामो समयदेखि सञ्चालनमा नआएको विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले विमानस्थल सञ्चालनको मुख्य चुनौती यात्रुको अभाव रहेको बताउनुभयो।
उहाँका अनुसार सरकारले विमानस्थल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति र उपकरणको अभाव हुन दिएको छैन। तर, न्यूनतम यात्रु सङ्ख्या सुनिश्चित हुन नसक्दा नियमित उडान सञ्चालन गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ।
मन्त्री पौडेलले पछिल्लो समय सडक सञ्जालको विस्तार र बसाइँसराइका कारण हवाई यात्रुको सङ्ख्या घट्दै गएको उल्लेख गर्दै यसले धेरै विमानस्थलको नियमित सञ्चालनमा प्रत्यक्ष असर परेको बताउनुभयो।
उहाँले भन्नुभयो, “नेपालका अधिकांश विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको अभाव हो। बसाइँसराइ र सडक सञ्जाल विस्तारका कारण हवाई यात्रु घटेका छन्। आवश्यक न्यूनतम यात्रु सङ्ख्या सुनिश्चित भए प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराएर नियमित उडान सञ्चालनका लागि आवश्यक व्यवस्था गरिनेछ।”
मन्त्री पौडेलले आवश्यक यात्रु सुनिश्चित हुनेबित्तिकै सम्बन्धित विमानस्थलमा जनशक्ति र उपकरण उपलब्ध गराई नियमित उडान सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।
