काठमाडौं । स्पेनका अधिकारीहरूले म्याड्रिड नजिक लागेको भीषण डढेलो अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर गएको चेतावनी दिएका छन्।
राजधानीको पश्चिम क्षेत्रमा लागेको तीनवटा छुट्टाछुट्टै डढेलो एकआपसमा मिसिएर विशाल आगलागीमा परिणत भएको हो।
डढेलो नियन्त्रणबाहिर गएपछि स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। म्याड्रिड आसपासका विभिन्न क्षेत्रमा आगो तीव्र रूपमा फैलिँदा कम्तीमा ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
म्याड्रिड क्षेत्रकी अध्यक्ष इसाबेल डियाज आयुसोले यसलाई "यस क्षेत्रको इतिहासकै सबैभन्दा भीषण डढेलो" भएको बताएकी छन्। उनका अनुसार अत्यधिक गर्मी, लगातारको तीव्र हावा र विभिन्न दिशाबाट फैलिएका आगोका मोर्चाहरू एकआपसमा मिसिँदा पूर्ण रूपमा प्रतिकूल अवस्था सिर्जना भएको छ।
