२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीसँग...

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीसँग फ्लाइ दुबईको छलफल, सेप्टेम्बर २३ देखि नियमित सेवा

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीसँग फ्लाइ दुबईको छलफल, सेप्टेम्बर २३ देखि नियमित सेवा

सहर्ष न्युज
सोमवार, आषाढ २२ २०८३
सहर्ष न्युज
सोमवार, आषाढ २२ २०८३
  • पोखरा : आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई नियमित हवाई उडानलाई दीर्घकालीन र दिगो बनाउन फ्लाइ दुबईका प्रतिनिधि तथा पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ।

    आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका पदाधिकारीसँग भएको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा–दुबई उडानलाई स्थायित्व दिने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो।

    उहाँले उडानलाई सफल र दिगो बनाउन स्थानीयवासी, निजी क्षेत्र तथा सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै यस सेवामार्फत गण्डकी प्रदेश र आसपासका यात्रुले दुबई हुँदै लन्डन, न्युयोर्क, टोकियो लगायत विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज रूपमा यात्रा गर्न सक्ने बताउनुभयो।

    निजी क्षेत्रको पूर्ण सहयोग रहने

    पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन निजी क्षेत्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले पनि उडानलाई सफल र दीर्घकालीन बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो।

    त्यस्तै, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नियमित अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सबै सरोकारवाला पक्षबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

    पर्यटन प्रवर्द्धनमा सहकार्य

    रेवान पोखरा र फ्लाइ दुबईका प्रतिनिधिबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा पनि छलफल भएको थियो। छलफलमा पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो।

    सन् २०२७ सम्म खुल्यो बुकिङ

    नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालनका लागि अनुमति दिएको थियो। त्यसपछि कम्पनीले उडान तालिका सार्वजनिक गर्दै सुरुमा दैनिक एक उडान सञ्चालन गर्ने जनाएको छ।

    फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

    अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा पूरा हुने अपेक्षा

    उडान सुरु गर्नुअघि फ्लाइ दुबईको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको विस्तृत निरीक्षण गरेको थियो।

    सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेलगत्तै फ्लाइ दुबईले उडान अनुमति पाएको हो।

    झन्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको भए पनि हालसम्म चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन सकेको छैन। फ्लाइ दुबईको नियमित उडान सुरु भएसँगै पर्यटकीय राजधानी पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रभावकारी रूपमा जोडिने र विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्ने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend