२०८३ कार्तिक १२ गते बुधवार

images

२२ वर्षपछि आर्सनल फेरि इंग्लिस फुटबलको शिखरमा

२२ वर्षपछि आर्सनल फेरि इंग्लिस फुटबलको शिखरमा

बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । आर्सनलले अन्ततः २२ वर्ष लामो प्रतिक्षाको अन्त्य गर्दै इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सन् २००४ पछि पहिलो पटक लिग च्याम्पियन बनेसँगै उत्तर लण्डनको क्लब फेरि एकपटक इंग्लिस फुटबलको शिखरमा पुगेको हो। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटिले ए एफ सी बर्नमाउथसँग १–१ को बराबरी खेलेपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन घोषित भयो।

    सिजनभर दबाब, आलोचना र प्रतिस्पर्धाको बीचमा घेरिएको आर्सनलले यसपटक भने स्थिरता, अनुशासन र सामूहिक प्रदर्शनका कारण सफलता हात पार्यो। प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा टोलीले युवा खेलाडीहरूको ऊर्जा र रणनीतिक फुटबललाई उत्कृष्ट रूपमा प्रयोग गर्‍यो। धेरै वर्षदेखि “संभावना बोकेको टोली” का रूपमा चिनिँदै आएको आर्सनलले यस सिजन आफूलाई साँच्चिकै विजेता टोलीका रूपमा प्रमाणित गरेको छ।

    सिजनको अन्त्यतिरसम्म पनि उपाधि दौड निकै रोमाञ्चक बनेको थियो। पेप ग्वार्डिओलाको सिटीसँग अनुभव, गहिरो स्क्वाड र लगातार उपाधि जित्ने इतिहास थियो। त्यसैले धेरैले अन्तिम समयमा फेरि सिटी नै च्याम्पियन बन्न सक्ने अनुमान गरेका थिए। तर बर्नमाउथविरुद्ध सिटीले जित निकाल्न नसक्दा आर्सनललाई उपाधि सुनिश्चित भयो।

    खेलको पहिलो हाफमा जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएका थिए। त्यसपछि अन्तिम समयमा अर्लिङ हल्यान्डले बराबरी गोल फर्काए पनि सिटीलाई आवश्यक जित दिलाउन सकेनन्। त्यो बराबरीसँगै अंक तालिकामा आर्सनलको अग्रता अपराजय बन्यो र इमिरेट्स स्टेडियम बाहिर हजारौँ समर्थक विजय उत्सवमा सामिल भए।

    यो उपाधि केवल एउटा ट्रफी मात्र होइन, आर्सनलका समर्थकका लागि भावनात्मक पुनर्जागरण पनि हो। सन् २००४ मा आर्सने वेङ्गरको नेतृत्वमा “इनभिन्सिबल्स” टोलीले अपराजित रहँदै उपाधि जितेको थियो। त्यसपछि क्लबले धेरै उतारचढाव, प्रशिक्षक परिवर्तन, आर्थिक दबाब र आलोचना भोगेको थियो। कहिलेकाहीँ शीर्ष चारभित्र पर्न समेत संघर्ष गर्नुपरेको अवस्था थियो। तर अहिलेको सफलताले क्लब फेरि आफ्नो गौरवशाली इतिहासतर्फ फर्किएको संकेत दिएको छ।

    आर्सनलको फुटबल सायद सबैभन्दा आकर्षक वा चम्किलो थिएन। उनीहरूले सधैं धेरै गोल गर्ने मनोरञ्जनात्मक खेल पनि खेलेनन्। तर च्याम्पियन बन्नका लागि आवश्यक कुरा भने उनीहरूसँग थियो - निरन्तरता, मानसिक मजबुती र कठिन खेल जित्ने क्षमता -  यही कारण उनीहरूले लामो सिजनमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भए।

    यसैबीच, आर्सनलको यो ऐतिहासिक सफलताले अझ ठूलो रूप लिन सक्ने सम्भावना पनि जीवित छ। २०२५–२६ सिजनमा अझै दुई महत्वपूर्ण खेल बाँकी छन् — प्रिमियर लिगमा क्रिस्टल प्यालेस विरुद्धको अन्तिम खेल र च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट-जर्मेनसँगको महामुकाबला। यदि आर्सनलले युरोपेली उपाधि समेत जित्न सफल भयो भने, यो केवल एउटा उपाधि जितको कथा मात्र सिमित रहने छैन, बरु आधुनिक फुटबल इतिहासमा आर्सनलको पुनर्जन्मको आगमनको कथा पनि बन्नेछ। २२ वर्षको प्रतीक्षापछि आएको यो सफलताले एउटा स्पष्ट सन्देश दिएको छ — आर्सनल अब केवल इङ्गल्याण्डको बलियो क्लब भएर - आफ्नो सुनौलो दिन लिएर फर्किएको मात्र होइन , आर्सनल युरोपेली फुटबलमाथि आफ्नो प्रभुत्व स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको हो।

    यस सफलतासँगै आर्टेटाको नाम पनि क्लब इतिहासमा सुनौलो अक्षरले लेखिने भएको छ। खेलाडीका रूपमा आर्सनलको कप्तानी गरेका उनले अहिले प्रशिक्षकका रूपमा पनि क्लबलाई उपाधि दिलाएका छन्। युवा टोलीलाई विश्वास गरेर निर्माण गरिएको यो प्रोजेक्टले अब युरोपेली फुटबलमा पनि ठूलो प्रभाव पार्ने संकेत देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend