२०८३ भाद्र २७ गते शनिवार

images

केपी ओली कहाँ हारे ?

केपी ओली कहाँ हारे ?

बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं। नेपालको इतिहासमा यति ठूलो राजनीतिक भूकम्प विरलै देखिएको छ । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसद्को निर्वाचनमा एकल बहुमत जित्ने निश्चित भइसकेको छ । रास्वपाका युवा नेता तथा प्रधानमन्त्री उम्मेदवार बालेन शाह (बालेन्द्र शाह)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा–५ मा ठूलो मतान्तरले हराएका छन् । ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) पूरै धराशयी भएको छ । पार्टीका वरिष्ठ नेता महेश बस्नेत, विष्णु पौडेल लगायतका हुने खानेहरू समेत पछाडि परेका छन् । यो निर्वाचन परिणाम केवल मतगणनाको नतिजा होइन, यो गत भाद्रमा सामाजिक सञ्जाल प्रतिबन्ध र युवा क्रान्तिबाट सुरु भएको जनआक्रोशको परिणाम हो ।

    २०८२ भदौमा तत्कालीन सरकारले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाएको थियो । युवाहरूले यसलाई स्वतन्त्रता र भ्रष्टाचारविरुद्धको आवाज दबाउने षड्यन्त्र ठाने । सुरुमा सानो आन्दोलन थियो, तर ओली सरकारले यसलाई हल्कासँग लिए । युवाहरू सडकमा उत्रिएसंगै आन्दोलन भिसन हुदै गयो । प्रधानमन्त्री ओलीले यो आन्दोलनलाई मात्र केही युवाको उत्तेजना भन्दै मतलब गरेनन । तर आन्दोलन चाँडै नै विशाल बनेर देशव्यापी फैलियो । काठमाडौं उपत्यकामा सरकारले भारी सुरक्षा बल प्रयोग गर्नुपर्यो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर संसद भवन र अन्य केहि सरकारी भवन नजिकका क्षेत्रमा कर्फ्यू लगायो । तर पनि प्रदर्शनकारीहरूले कर्फ्यू तोडेर विरोध जारी राखे । दुर्भाग्यवश, देश भर द्वन्द्व चर्कियो र कम्तीमा १९ जनाको ज्यान गयो । तीमध्ये १७ जना राजधानी मै मारिए । ३०० भन्दा बढी घाइते भए । यो दृश्यले पूरै देशलाई स्तब्ध बनायो । साँझतिर सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध हटायो । गृहमन्त्री रमेश लेखकले राजीनामा दिए, तर प्रधानमन्त्री ओलीले दिएनन् । यो नै ओलीको राजनीतिक जीवनको सबैभन्दा ठूलो गल्ती साबित भयो ।

    जसलाई जनताले 'केपी बा' भनेर पितृतुल्य सम्मान गर्थे, तिनै ओलीलाई अब 'युवाको हत्यारा' भन्न थालियो । वर्षौंको राजनीतिक अनुभव, कूटनीतिक कौशल र दक्ष नेताको छवि एकै रातमा ध्वस्त भयो । सामाजिक सञ्जाल (जुन उनीहरूले प्रतिबन्ध लगाएका थिए) मा ओलीविरुद्ध आक्रोशको बाढी आयो । 'केपी बा'को नकारात्मक कमेन्ट र स्टाटसले देश भरियो । अर्को दिन देश आगोमा बल्यो । सरकारी भवनहरूमा आगजनी भयो । ओलीले अन्ततः राजीनामा दिए, तर निकै ढिलो भइसकेको थियो । जनताको विश्वास गुमिसकेको थियो । त्यस पछि पूर्वप्रधान न्यायाधीश सुशिला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाइयो । उनको एकमात्र जिम्मेवारी थियो – समयमै स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु । सुशिला कार्कीले प्रतिबद्धता अनुसार निर्वाचनको मिति घोषणा गरिन् र फाल्गुन २१ गते भव्य रूपमा निर्वाचन सम्पन्न भयो । यो निर्वाचनलाई उनले लोकतन्त्रको विजय भनेर आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । बालेन शाहले पनि उनलाई 'आमा' भनेर सम्मान गर्दै धन्यवाद दिएका थिए ।

    निर्वाचनमा एमाले र केपी ओलीले जनताको मन जित्न सकेनन् । उनीहरूको अहंकार, पुरानो शैलीको राजनीति, दृष्टिकोणको अभाव र अनावश्यक अन्तर्वार्ता, उद्धरण तथा सामाजिक संजालहरुमा स्टाटसले उनीहरूलाई घाटा पुर्यायो । झापा–५ मा बालेन शाहले ओलीलाई चुनौती दिए । रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको थियो । बालेन झापा गए, जनतासँग प्रत्यक्ष संवाद गरे, युवा ऊर्जा देखाए । नतिजा ? बालेनले ६८,३४८ मत पाए, ओलीले जम्मा १८,७३४ मत । झापा जस्तो ओलीको गढमा यति ठूलो पराजय ! बालेनले मात्र होइन, पूरै पार्टीले इतिहास रच्यो । अहिलेसम्मको मतगणनाअनुसार रास्वपाले १२५ भन्दा बढी प्रत्यक्ष निर्वाचन क्षेत्र जितिसकेको छ र समानुपातिकतर्फ पनि ४८ प्रतिशतभन्दा बढी मत पाएको छ । यो पहिलो पटक हो जब कुनै पार्टीले दुईतिहाई नजिकको बहुमत ल्याएको छ । नेपाली कांग्रेस, एमाले, माओवादी सबै पराजित भएका छन् ।

    रास्वपाको उदय किन सम्भव भयो ? किनकि यो पार्टीले युवाहरूको आवाज बोकेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य र डिजिटल नेपालको सपना बोकेको छ । बालेन शाह जस्ता युवा नेताले पुरानो राजनीतिलाई चुनौती दिए । उनीहरूको अभियान जनताको सरकार र  युवाको नेतृत्वमा आधारित थियो । रास्वपाले सामाजिक सञ्जाललाई नै हतियार बनाएर युवाहरुलाई जोडे – जुन प्लेटफर्मलाई ओली सरकारले प्रतिबन्ध लगाएको थियो ।

    ओली राजनीतिक रूपमा कमजोर अवस्थामा पुगेका देखिन्छन् । चार पटक प्रधानमन्त्री बनेका ओली अहिले आफ्नै क्षेत्रमा पराजित भएका छन् । पार्टीभित्र आन्तरिक कलह सुरु भइसकेको छ । महेश बस्नेत, विष्णु पौडेलजस्ता नेता पनि आफ्नो क्षेत्रमा पछाडि परे । आलोचकहरूले उनको नेतृत्व शैलीलाई अहंकारी र पुरानो शैलीको भन्दै प्रश्न उठाएका छन् । जनताले उनीहरूलाई पुरानो पुस्ता भनेर अस्वीकार गरेका छन् र निर्वाचनको नतिजाले यो कुरा छर्लंग देखाएको छ ।

    यो निर्वाचनले नेपाललाई नयाँ दिशा दिएको छ । रास्वपाको सरकार बन्ने निश्चित छ । बालेन शाह सम्भवत : नेपालका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्ने छन् । उनको नेतृत्वमा नेपालले भ्रष्टाचारमुक्त, युवामुखी र समृद्धिको बाटो समात्ने अपेक्षा गरिएको छ । सामाजिक सञ्जाल प्रतिबन्धले जन्माएको जेन - जी क्रान्तिले पुरानो राजनीतिक व्यवस्थालाई नै उखेलेर फ्याँकेको छ । अब नेपाल नयाँ अध्यायमा प्रवेश गर्दैछ । रास्वपाको बहुमत, बालेनको नेतृत्व र युवाहरूको ऊर्जाले देशलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।
    केपी ओलीका लागि यो पराजय मात्र होइन, यो उनको राजनीति युगको अन्त्य हो । जसलाई 'केपी बा' भनिन्थ्यो, अब उनलाई इतिहासको पानामा जनताको आवाज दबाउने नेताको रूपमा सम्झिने छ। रास्वपाले भने इतिहासमा आफुलाई क्रान्तिकारी पार्टीको रूपमा स्थापित गरेको छ । यो नतिजाले नेपाललाई सन्देश दिएको छ – जनताको आवाज दबाउन सकिँदैन । अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचारविरुद्धको लडाइँ र युवाको नेतृत्व नै नयाँ नेपालको आधार हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend