२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • दसैँमा उपत्यकाका लागि तेइस हजार खसीबोका...

दसैँमा उपत्यकाका लागि तेइस हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी

दसैँमा उपत्यकाका लागि तेइस हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी

सहर्ष न्युज
मंगलवार, भाद्र २५ २०८१
सहर्ष न्युज
मंगलवार, भाद्र २५ २०८१
  •  

    दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । 

    काठमाडौँ चौपाया खरिद बिक्री व्यवसायी सङ्घका व्यवस्थापक जीवनराज खड्काले यसपालिको दसैँमा २२ देखि २३ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको जानकारी दिनुभयो । आर्थिक शिथिलताका कारण उपभोक्ताको आम्दानी कम हुँदा बजारमा खसीबोकाको माग धेरै नहुन सक्छ,” उहाँले भन्नुभयो, तै पनि गत वर्षकै हाराहारीमा खसीबोका खपत हुने देखिन्छ ।”

    कोभिड हुनुभन्दा अगाडि दसैँमा उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने गरेकोमा पछिल्लो समय खपत क्रमिक रूपमा घट्दै गएको उहाँको भनाइ छ । 

    हाल बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६५० देखि ६८० रुपियाँसम्म रहेको छ । तयारी मासु भने प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँ रहेको छ । खसीको मासुको मूल्य पनि गत वर्षकै हाराहारीमा रहेको छ । हाल कलङ्की खसी बजारमा दैनिक पाँच सयको सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन् ।

    अन्य समयको तुलनामा दसैँको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन् । निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । 

    खाद्यले अठार सय खसीबोका बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । 

    कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले आगामी दसैँमा एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको जानकारी दिनुभयो । दसैँमा उपभोक्तालाई सहुलियतमा खसीबोका उपलब्ध गराउन खसीबोका खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । खसीबोका खरिद गर्न चार करोड रुपियाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो । कम्पनी हेटौँडा र तुलसीपुरबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । गत वर्ष कम्पनीले एक हजार ६५९ खसीबोका र ५४२ च्याङ्ग्रा बिक्री गरेको थियो । गत वर्ष प्रतिकेजी निर्धारित बजार मूल्यमा प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गरेको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend