काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा “नयाँ नेतृत्व” को चुनाव चलिरहेको छ , तर परिणाम चाहिँ पहिल्यै चुहिसकेको जस्तो देखिन्छ। कार्यकर्ताले भोट हाल्दै छन्, नेताहरू भाषण दिँदै छन्, तर सबैको मनमा एउटै प्रश्न— यो चुनाव हो कि औपचारिकता? किनकि जहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनाव हुन्छ, त्यहाँ केपी शर्मा ओलीको जित त परम्परा जस्तै भइसकेको छ।
पार्टीभित्र नयाँ अनुहार खोज्ने अभियान त कागजमै मात्र सीमित देखिन्छ। मञ्चमा “नयाँ सोच, नयाँ पुस्ता” का नारा लागिरहेका छन्, तर पर्दा पछाडि र कार्यकर्ताको मस्तिकतामा पुरानै नेताको फोटो फ्रेम टाँसिएको छ। केपी ओली फेरि अध्यक्ष भए भने अचम्म मान्नु पर्दैन। बरु अचम्म त तब पर्छ, जब उहाँ अध्यक्ष नहुने अवस्थामा पर्नुहुन्छ।
अब प्रश्न उठ्छ—पुराना नेता फेरि आएपछि संसद् के होला? संसद् पुनः व्यवस्थापन? सम्भव छ? किनकि ओली आएपछि संसद् पनि ओलीमय हुन्छ—कहिले विघटन, कहिले पुनःस्थापना, कहिले भाषण, कहिले व्यङ्ग्य। नेपालको संसद् उहाँका लागि राजनीतिक प्रयोगशाला जस्तै भइसकेको छ।
यसपटक पनि नयाँ नेतृत्वको चुनावले एउटा ठूलो सन्देश दिएको छ । एमालेमा परिवर्तन हुन्छ, तर नेतृत्व बदलिँदैन। पुस्ता फेरिन्छ, नाराहरू फेरिन्छन्, तर कुर्सी र त्यसमा बस्ने मान्छे उही। लोकतन्त्र यहाँ ‘रोटेसन’ मा होइन, ‘रिपिट मोड’ मा चलिरहेको छ।
अन्त्यमा भन्नुपर्दा, एमालेको चुनाव हेर्दा नेपाली फिल्मको सिक्वेल जस्तै लाग्छ—कथावस्तु उही, नायक उही, संवाद उही, तर पोस्टरमा ‘नयाँ’ लेखिएको। अब दर्शक अर्थात् जनता चाहिँ ताली बजाउने कि हलबाट बाहिर निस्कने—त्यो निर्णय भविष्यले गर्नेछ।
