२०८३ श्रावण ११ गते सोमवार

images

सुरक्षित कारोबार सम्बन्धी ऐन संशोधन हुँदै, चल सम्पत्ति पनि धितो स्वीकार गरिने

सुरक्षित कारोबार सम्बन्धी ऐन संशोधन हुँदै, चल सम्पत्ति पनि धितो स्वीकार गरिने

सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
  • सहर्ष न्युज, काठमाडौं । सुरक्षित कारोबार सम्बन्धी ऐन संशोधन हुने भएको छ । यो ऐन संसोधन भएपछि चल सम्पत्ति पनि धितोका रूपमा योग्य हुने छ । चल सम्पत्ति योग्य हुने गरी नै ऐन संसोधन हुने भएको छ ।

    सुरक्षित कारोबार सम्बन्धी पहिलो संशोधन विधेयक–२०८० को प्रतिवेदन विधायन व्यवस्थापन समितिले पारित गर्दै विधेयक राष्ट्रिय सभामा पेस गर्ने भएको हो ।

    संशोधित विधेयकमा धितो हक सिर्जना हुँदाका बखत धितोको सम्पत्तिका रूपमा रहेको अधिकारपत्र लगायत चल सम्पत्ति नेपालमा रहेको भए उक्त धितोका सम्बन्धमा ऐन लागु हुने प्रस्ताव गरीएको छ ।

    यस्तै नेपालमा रहने आधार देखिएको चल सम्पत्ति वा त्यस्तो सम्पत्ति सामान्यतया एकभन्दा बढी मुलुकमा प्रयोगमा आउने गरेको र उक्त सम्पत्ति धितो दिने व्यक्ति नेपालमा बसोबास गरी त्यस्तो धितो नेपालमा रहेको भए पनि ऐन लागु हुने प्रस्ताव गरिएको छ ।

    यस्तै धितोको सम्पत्तिका रूपमा रहेको बहीखाता लगायत चल सम्पत्ति र त्यस्तो धितोको सम्पत्ति नेपालमा रहने भए पनि त्यसलाई ऐन लागु हुने प्रस्ताव गरिएको छ ।

    संशोधन विधेयकमा चल सम्पत्तिको परिभाषामा चल सम्पत्ति बाहेक जडित सामान, उत्खननका लागि अनुमतिप्राप्त खनिज पदार्थ, काट्नुपर्ने रुखलगायत व्यक्तिको कुनै पनि प्रकृतिको मूर्त वा अमूर्त सम्पत्ति हुने उल्लेख छ ।

    चल सम्पत्ति शब्दले भविष्यमा सिर्जना हुने सम्पत्ति, बहीखाता, मालसामान, बैंक खाता, धितोको सम्पत्तिबाट प्राप्त लाभ वा मुलुक बाहिर रहेको चल सम्पत्तिलाई समेत जनाउने उल्लेख छ । तर, धितोको सम्बन्धमा भने नेपालमा रहेको सम्पत्तिमा मात्रै उक्त ऐन लागु हुने गरी संशोधन प्रस्ताव आएको हो ।

    विधायन व्यवस्थापन समितिमा दफाबार छलफलपछि समितिको बुधबार बसेको बैठकले प्रतिवेदनसहित विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । पारित भएको प्रतिवेदन चाँडै राष्ट्रिय सभा बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले बताइन् ।

    पहिलो पटक २०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो । तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले ४ चैत २०८० मा अर्थ मन्त्रालयमार्फत राष्ट्रिय सभामा ऐनको पहिलो संशोधन विधेयक सम्बन्धी प्रस्ताव दर्ता गराएको थियो ।

    समितिले प्रतिवेदनसहित राष्ट्रिय सभामा पेस गर्ने विधेयक राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भए चल सम्पत्तिको धितोसमेत उक्त ऐनले स्वीकार गर्ने छ ।

    विधेयक पारित भएर ऐन कार्यान्वयनमा आए अचल सम्पत्ति धितोमा समेत ऋण लगानी गर्न सकिने अर्थमन्त्री वर्षमान पुनले बताए ।

    ‘यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्तिमात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागु भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिन्छ,’ अर्थमन्त्री पुनले भने ।

    अब पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएका खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिने उनले बताए ।

    सभापति राईले सरलीकृत रूपमा कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यसाथ विधेयक आएको बताइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend