२०८३ भाद्र २७ गते शनिवार

images

हामी नेपालीः हामी यस्तै त हो नि ब्रो

हामी नेपालीः हामी यस्तै त हो नि ब्रो

मंगलवार, कार्तिक १२ २०८२
मंगलवार, कार्तिक १२ २०८२
  • काठमाडौँ।  काठमाडौँको बौद्ध सडकमा ट्राफिक कोनहरू हेर्नुभयो ? ती बिचरा कोनहरू केवल बिग्रिएका वा भत्किएका मात्र छैनन्, कुनैमा त पान–घुट्खाको रातो थुकले 'आर्ट ग्यालरी' नै बनाइदिएको छ ! प्रश्न उठ्छ– के सवारी रोकेर यात्रुले त्यहाँ थुकेका हुन्, कि चलाउँदै–चलाउँदै 'टार्गेट प्राक्टिस' गरेका ? उत्तर ? हामीसँग कहाँ छ र ! यस्तो दृश्य देख्दा लाग्छ, हाम्रो राष्ट्रिय खेल 'नियम उल्लङ्घन' हो, र ट्राफिक कोनहरू केवल बलिया खेलाडीका टार्गेट !

    अझ गौशाला–चाबहिलको कोनको त अचम्मको कथा छ । जथाभाबी सवारी नघुमाउन भनेर राखिएको कोनलाई चालकहरू आफैँ हटाएर 'बाटो काट्ने' गर्छन् । वाह ! नियम बनाउनेले सोचेका थिए– कोनले बाटो रोक्छ । तर हाम्रा चालकले भन्छन्, "कोनले हामीलाई रोक्ने ? हामी त कोनलाई रोक्छौँ !" असहाय ट्राफिक प्रहरीले देखे पनि मुस्कुराउँछन् – किनकि श्रोतको कमि त छ नै तर भन्ने हो भने उनीहरू पनि हाम्रै समाजका सदस्य हुन्, र नियम तोड्नु त हाम्रो 'सांस्कृतिक अधिकार' हो !

    काठमाडौँ महानगरले केही महिना अघि धुम्रपानमा कडाइ गरेको थियो । तर 'जेन जी' को आन्दोलनले धेरै संस्थाहरूको घुँडा कम्जोर बनायो, र अहिले फाइदा उठाउँदै मानिसहरू जानीजानी धुवाँ उडाउँछन्– कहिले सिगरेटको, कहिले भेपको  ! यिनै मानिसहरुलाई जसलाई आजको भोलि देशमा विकास, स्थिरता, रोजगारी र आर्थिक वृद्धि चाहिन्छ। एक हप्ता फोहोर नउठे बाटोमा थुपार्छौँ, सवारी छ भने खोलामा फाल्छौँ । वाह, कति सहज ! 

    शिक्षा क्षेत्र त झन् 'रिङ्ग रोड' जस्तो – शिक्षकले विद्यार्थी कुट्छन्, अभिभावकले शिक्षकलाई, अनि शिक्षकहरू मिलेर अभिभावकसँग झगडा गर्छन् । कुनै स्कूलमा त यो 'चेन रिएक्सन' यति लामो भयो कि, प्रहरी, वडाध्यक्ष, मेयरसम्म पुगे ! अन्तमा सबैले माफी मागे, फोटो खिचे, र फेरि अर्को दिनदेखि उही कथा ! किनकि, हाम्रो शिक्षा प्रणालीले 'नियम पालना' सिकाउँदैन, 'नियम तोडेर बाँच्ने कला' सिकाउँछ !

    जेन जी आन्दोलनपछि त नेताहरूको 'बम्पर अफर' चल्यो– गल्ली–गल्लीमा नेताहरू ! दुई दिनको दबाब सहन नसक्नेहरू आफूलाई 'राजनीतिज्ञ' भन्दै हिडीरहेका छन्। किन के गर्न कसैलाई थाहा छैन । सायद 'सपना बाँड्ने फ्याक्ट्री' खोलेका छन्– जहाँ सपना देखाइञ्च तर मेहेनत गर्न भने कसलाई थाहै छैन। 

    आखिर हामी यस्ता किन ? किनकि हाम्रो डीएनएमा 'जुगाड' छ– नियम पालना गर्नु भनेको 'बोरिङ' जीवन ! विकास चाहियो भनेर चिच्याउने हामी, सानो नियम समेत मान्दैनौँ । हामी त केवल 'डिमान्ड' गर्छौँ – जस्तै, बत्ती नआए चिच्याउँछौँ, पानी नआए रोड ब्लक गर्छौँ, तर बिजुली बचाउने, पानी बचाउने ? त्यो त 'अर्काको काम' ! सुनौलो भविष्यको सपना देख्ने हामी नेपालीहरूले बिपनामा त केवल ट्राफिक कोनमा थुक्ने, फोहोर खोलामा फाल्ने, नियम तोडेर 'हिरो' बन्ने र नेताहरूको गल्ली–गल्ली फ्याक्ट्रीबाट 'विकासको नारा' सित्तैमा लिने काम गर्छौँ – किनकि, बदलिनु त परको कुरा, सडकमा थुक्न छोड्नु पनि त 'राष्ट्रिय संस्कृति' माथिको आघात होला नि !
    वाह, कति गर्विलो यात्रा !

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend