काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भेपको बट्टाभित्र लुकाइएका ९ किलो सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ।
अख्तियार स्रोतका अनुसार, महरासँग बिहीबार टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा सोधपुछ गरिएको हो। सुन तस्करीको समयमा उनले तत्कालीन भन्सार प्रमुखसहित केही सरकारी कर्मचारीहरूलाई गरेको भनसुनका सम्बन्धमा बयान लिइएको जनाइएको छ।
सार्वजनिक पदमा रहेर भूमिका खेलेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ। अनुसन्धान अधिकृतका अनुसार, “महरासँगको बयान अनुसन्धान प्रक्रियाको हिस्सा हो। अहिले थप प्रमाण संकलन भइरहेको छ, त्यसको आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइनेछ।”
यसअघि महरालाई सोही प्रकरणमा पक्राउ गरिएपछि धरौटीमा रिहा गरिएको थियो। उनका छोरा राहुल महरा पनि यसै घटनामा संलग्नताको आरोपमा पक्राउ परिसकेका छन्।
२०७९ पुषमा त्रिभुवन विमानस्थलमा भेपको बट्टाभित्र लुकाइएको ९ किलो सुन बरामद भएपछि उक्त घटनाले देशभर राजनीतिक तहसम्म तरंग ल्याएको थियो। घटनासँग सम्बन्धित व्यक्तिहरू क्रमशः पक्राउ पर्न थालेपछि अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगिएको छ।
अख्तियारका एक अधिकारीका अनुसार, “सुन प्रकरणमा महरासँगको बयान अनुसन्धानको प्रकृयाअन्तर्गत हो। अन्य पक्षका पनि बयान र प्रमाण सङ्कलन कार्य जारी छ।”
प्रकरणसँग जोडिएका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता पुष्टि भएमा थप कडा कानुनी प्रक्रिया अघि बढाइने संकेत पनि स्रोतले दिएको छ।
