२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • वीरगञ्जको होटल कोठामा बाबु–छोरा मृत फेला,...

वीरगञ्जको होटल कोठामा बाबु–छोरा मृत फेला, भारतको भुवनेश्वरबाट आएका थिए

वीरगञ्जको होटल कोठामा बाबु–छोरा मृत फेला, भारतको भुवनेश्वरबाट आएका थिए

सहर्ष न्युज
बुधवार, आश्विन २२ २०८२
सहर्ष न्युज
बुधवार, आश्विन २२ २०८२
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.–१६ स्थित नयाँ बसपार्कको भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बसोबास गरिरहेका भारतीय नागरिक बाबु र छोरा होटलको कोठामा मृत अवस्थामा फेला परेका छन्।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतको पश्चिम बंगाल, भुवनेश्वर निवासी ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य होटलको कोठाभित्र मृत भेटिएका हुन्।

    प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार उनीहरू असोज १९ गते (आइतबार) उपचारको सिलसिलामा नेपाल आएको भन्दै होटलमा दुई दिनको लागि कोठा बुक गरेका थिए।

    होटलका अनुसार उनीहरूले आइतबार बेलुका र सोमबार बिहान खाना खाएका थिए, तर त्यसपछि बेपत्ता जस्तै भएका थिए। सोमबार साँझ र मंगलबार बिहान खाना खान नआएपछि शंका उत्पन्न भएको थियो।

    होटलका कर्मचारीले मङ्गलबार दिउँसो करिब ४ बजेतिर कोठा ढकढक्याउँदा ढोका नखोलेपछि भेन्टिलेसनबाट हेर्दा एक जना पङ्खामा झुन्डिएको र अर्का बेडमा लम्पसार परेको देखेका थिए।

    तत्काल प्रहरी चौकी बसपार्कलाई खबर गरिएको थियो।

    प्रहरी टोलीले मङ्गलबार राति घटनास्थलको अवस्था नियालेर बुधबार बिहान वडा अध्यक्ष परशुराम चौरसियाको रोहबरमा ढोका खोली सर्जिमिन मुचुल्का तयार गरेको थियो।

    बुवा सजल आचार्य ओछ्यानमा मृत अवस्थामा थिए भने छोरा सागर आचार्य पङ्खामा पासो लागेको अवस्थामा झुन्डिएको प्रहरीले जनाएको छ।

    दुवैको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ।

    प्रवक्ता लम्सालका अनुसार घटनाको कारण विस्तृत रूपमा पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र खुल्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend