२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • कलेज ड्रेसमै माइतीघरमा जेनजीको विरोध प्रदर्शन,...

कलेज ड्रेसमै माइतीघरमा जेनजीको विरोध प्रदर्शन, सरकारलाई पारदर्शिताको चेतावनी

कलेज ड्रेसमै माइतीघरमा जेनजीको विरोध प्रदर्शन, सरकारलाई पारदर्शिताको चेतावनी

सहर्ष न्युज
सोमवार, भाद्र २३ २०८२
सहर्ष न्युज
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं : नेपालको नयाँ पुस्ता जेनजीले सोमबार बिहान राजधानीको माइतीघर मण्डलामा भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्। बिहान ९ बजेदेखि नै कलेज ड्रेसमा प्लेकार्ड बोकेर सयौं युवा प्रदर्शनस्थलमा जम्मा भएका थिए।

    स्थानीय प्रशासनबाट अनुमति प्राप्त प्रदर्शन बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु गरिएको हो।

    आन्दोलनको उद्देश्य : पारदर्शिता, जवाफदेही र निष्पक्ष प्रशासन

    प्रदर्शनकारी युवाहरूले जारी गरेको विज्ञप्तिमा आफूहरूको आन्दोलन पूर्णतः शान्तिपूर्ण, कानुनी र सिर्जनात्मक हुने स्पष्ट गरिएको छ। उनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सरकारलाई जवाफदेही बनाउने, राज्य सञ्चालनमा पारदर्शिता कायम गर्नेप्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने लक्ष्य लिएको जनाएका छन्।

    विज्ञप्तिमा उल्लेख छ, “हामी न्याय, शान्ति र विकासमा विश्वास राख्छौं। भ्रष्टाचारको अन्त्य नै परिवर्तनको सुरुवात हो।”

    हिंसा र राजनीतिक स्वार्थविरुद्ध स्पष्ट सन्देश

    जेनजी पुस्ताले सबै सहभागीहरूलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आह्वान गरेका छन्। उनीहरूको भनाइमा आन्दोलनको शक्ति एकता, सृजनशीलता र सत्य हो।

    साथै, उनीहरूले राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिँदै आन्दोलनलाई कुनैपनि राजनीतिक लाभका लागि प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन्।

    “यो आन्दोलन कुनै पार्टी वा नेताको लागि होइन, देश र भविष्यका लागि हो,” विज्ञप्तिमा भनिएको छ।

    सडकमै होइन, सोचमै क्रान्ति

    जेनजीको यो प्रदर्शन सामाजिक सञ्जालहरूमा भाइरल बनेको "नेपो बेबी" अभियानसँग समेत जोडिएको छ, जसले राजनीतिक नेतृत्वको विलासी जीवनशैली र आम नागरिकको संघर्षबीचको गहिरो विभेदलाई प्रश्न गर्दै आएको छ।

    प्रदर्शनमा सहभागी युवाहरूको यस्तो चेतनशील उपस्थिति र सशक्त सन्देशले देशभित्र बढ्दो राजनीतिक वितृष्णा र सामाजिक अन्यायविरुद्ध युवाहरू जाग्दै छन् भन्ने संकेत दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend