२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • अविरल वर्षाले देशभर ९ सडक पूर्ण...

अविरल वर्षाले देशभर ९ सडक पूर्ण अवरुद्ध, १५१ सडकखण्डमा एकतर्फी आवागमन

अविरल वर्षाले देशभर ९ सडक पूर्ण अवरुद्ध, १५१ सडकखण्डमा एकतर्फी आवागमन

सहर्ष न्युज
बिहिवार, भाद्र १२ २०८२
सहर्ष न्युज
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं ।  अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरूमा सवारी आवागमनमा व्यापक समस्या देखिएको छ। सडक विभागका अनुसार हालसम्म नौ वटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी मात्र सवारी चल्न सक्ने अवस्था छ।

    देशभर रहेका ३७१ सडकखण्डमध्ये २११ सडक अहिले पूर्णरूपमा सञ्चालनमा छन्। विभागका सूचना अधिकारी अमितकुमार शर्माले लगातारको बाढी, पहिरो, डुबान र निर्माण कार्यका कारण कतिपय सडक बन्द रहेको जानकारी दिए।

    “कतिपय स्थानमा पहिरो हटाउने काम भइरहे पनि निरन्तरको वर्षाका कारण सडक सञ्चालनमा ढिलाइ भएको छ,” उनले बताए।

    प्रमुख अवरुद्ध सडकहरू

    गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक: असार २४ गते चीनतर्फको हिमताल फुटेर आएको बाढीपछि हालसम्म अवरुद्ध।

    कर्णाली करिडोर (दक्षिण खण्ड): पैमा नदीमा पानीको बहाव बढेका कारण पूर्णरूपमा बन्द।

    कोशी राजमार्ग (उत्तर–दक्षिण खण्ड): पुल निर्माण कार्य र उच्च बहावले गर्दा सवारी चल्न नसक्ने अवस्था।

    तमोर करिडोर: बेलिब्रिज बगाएपछि चतुरा–मुलघाट–गणेशचोक सडक खण्ड अवरुद्ध।

    ठोरी–रसुवागढी सडक (तातोपानी–टिमुरे): पहिरोका कारण पूर्ण अवरुद्ध, हटाउने काम जारी।

    छिन्चु–मरिम सडक (भेरी करिडोर, पश्चिम रुकुम): लेदो पहिरोले यातायात रोकिएको।

    सहिद राजमार्ग (रोल्पा): लगातारको वर्षापछि पहिरो हटाउन नसकिएको।

    सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडक (दैलेख): सुख्खा पहिरो खस्ने क्रम नरोकिएकाले राति सवारी बन्द।

    अरनिको राजमार्ग (सिन्धुपाल्चोक खण्ड): पहिरोले सडक पूर्णरूपमा बन्द।

    सडक विभागले जनताको आवागमन सहज बनाउन पहिरो तथा अवरोध हटाउने काम तीव्र बनाइएको जनाएको छ। तर निरन्तरको वर्षा, लेदो र दुर्गम भौगोलिक अवस्थाका कारण कतिपय ठाउँमा सुधार कार्यमा कठिनाइ भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend