२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • नेपाल सरकार ४०४ अर्ब घाटामा, नगद...

नेपाल सरकार ४०४ अर्ब घाटामा, नगद मौज्दात १ खर्ब ३० अर्ब

नेपाल सरकार ४०४ अर्ब घाटामा, नगद मौज्दात १ खर्ब ३० अर्ब

सहर्ष न्युज
आइतवार, भाद्र ८ २०८२
सहर्ष न्युज
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं ।  गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको बैंकिङ कारोबारमा आधारित वित्त स्थिति रु. ४०४ अर्ब ४२ करोड घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारको घाटा रु. ३७९ अर्ब ३८ करोड थियो ।

    यसैबीच, तीनै तहका सरकारको एकीकृत वित्त स्थिति भने रु. १३० अर्ब ७३ करोड बचतमा रहेको छ।

    अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षमा नेपाल सरकारको कुल खर्च रु. १५२३ अर्ब ११ करोड पुगेको छ। यसमा चालु खर्च रु. ९८० अर्ब ३८ करोड, पुँजीगत खर्च रु. २२२ अर्ब ६८ करोड र वित्तीय व्यवस्था खर्च रु. ३२० अर्ब ४ करोड रहेको छ।

    सरकारको कुल राजस्व परिचालन रु. ११७८ अर्ब ८२ करोड रहेको छ, जसमा कर राजस्व रु. १०४९ अर्ब ८८ करोड र गैरकर राजस्व रु. १२८ अर्ब ९४ करोड रहेको छ।

    आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन रु. ३२९ अर्ब ९९ करोड भए पनि रु. २४३ अर्ब ९१ करोड भुक्तानी गरिएकोले ८६ अर्ब ८ करोड मात्र खुद आन्तरिक ऋण परिचालन भएको छ। साथै, सरकारले रु. १२५ अर्ब ४० करोड बाह्य ऋण परिचालन गरेको छ।

    असार मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण रु. २६६९ अर्ब ६५ करोड पुगेको छ, जसमा बाह्य ऋण रु. १४०१ अर्ब ४२ करोड र आन्तरिक ऋण रु. १२६८ अर्ब २२ करोड रहेको छ। सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्षको ४२.७१ प्रतिशतभन्दा बढेको हो।

    असार मसान्तसम्म सरकारको नगद मौज्दात रु. १३० अर्ब ७३ करोड रहेको छ, जुन अघिल्लो वर्षको रु. ९३ अर्ब ९६ करोडभन्दा वृद्धि हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend