२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • हनुमन्तेखोला अतिक्रमण : धार नै परिवर्तन...

हनुमन्तेखोला अतिक्रमण : धार नै परिवर्तन गराएर बजार विस्तार, यस्तो थियो इतिहास

हनुमन्तेखोला अतिक्रमण : धार नै परिवर्तन गराएर बजार विस्तार, यस्तो थियो इतिहास

सहर्ष न्युज
सोमवार, श्रावण ६ २०८२
सहर्ष न्युज
सोमवार, श्रावण ६ २०८२
  • अशाेक अधिकारी, भक्तपुर । भक्तपुरमा हनुमन्तेखोलाको बाढी र डुबानको त्रासदी आरम्भ भएको एक दशकभन्दा बढी भयो । वर्षायाममा हनुमन्तेखोलाको बहाब क्षेत्रमा पर्ने पालिकामा बाढी र डुबान हुँदै आएको छ । यसको एक मात्रै कारण हो अतिक्रमण । दुई दशकअघि फराकिलो बहाब क्षेत्र रहेको हनुमन्तेखोला अहिले साँघुरिएको छ । हनुमन्तेखोलाको बहाब क्षेत्र अतिक्रमण गरी ठुल्ठुला भवन, घर र व्यावसायिक कम्प्लेक्स निर्माण गरिएको छ । केही क्षेत्रमा खोलाको धार नै परिवर्तन गरिएको छ । 

    पछिल्लो एक दशकमा मात्रै बाढी र डुबानको त्रासदी बढ्दो दरमा  छ । २०५० पछि भूमाफियाले खोला फर्काएर जग्गा बिक्रीवितरण गरे । भूमाफियाको चलखेलका कारण खोलाकै जग्गा खरिद गरेर घर बनाएकाहरू अहिले बिचल्लीमा परेका छन् ।

    स्थानीयवासी कृष्णसुन्दर सुवालका अनुसार हनुमन्तेखोलाको जग्गा अतिक्रमण गरेर धार नै परिवर्तन गरेपछि सृजित समस्याले घर बनाउनेको बिचल्ली र बाढीको प्रताडना सुरु भएको हो । हनुमन्तेखोलाको सहायक खोलाको बहाब क्षेत्रमा पर्ने बालकोटका विभिन्न स्थान, राधेराधे, मध्यपुर थिमि नगरपालिका–३, काठमाडौँ स्कुल अफ ल जाने बाटोसहित कैयौँ स्थानमा अतिक्रमण गरिएको छ । उहाँले भन्नुभयो, “भक्तपुरमा खोला मिच्ने काम धमाधम भइरहेको छ । त्यसै कारण बाढीले बर्सेनि क्षति पु¥याउने गरेको हो । यसलाई रोक्न खोलालाई आफ्नो बहाब क्षेत्रमा बग्न दिनु पर्छ ।”

    सार्वजनिक जग्गा व्यक्तिका नाममा 

    २०७६ साउन १२ गते नापी कार्यालय भक्तपुरले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरलाई पत्र लेख्दै हनुमन्तेखोलाको जग्गा मिचेर बस्ती विस्तार भएको प्रस्ट पारेको छ । पत्रमा भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका–२ को दिव्यश्वरीमा पर्ने कित्ता नं. १११९ को ६९ रोपनी ११ आना तीन पैसा जग्गाको प्लट रजिस्टर भएको देखिने तर कित्ता नक्सा नदेखिएको हुँदा मालपोत कार्यालयकै स्रेस्तामा भएको बेहोराबाट जानकारी लिन भनिएको छ । साथै कित्ता नं. १०१२ को २८ रोपनी तीन आना दुई दाम जग्गा चाहिँ फिल्डबुकमा खोला रहेको कित्ताकाट नापी कार्यालयमा रहेको प्लट रजिस्टरमा देखिएको उल्लेख छ । त्यसै गरी सर्वोच्च अदालतले २०७६ फागुन ६ गते ‘हनुमन्तेखोलाको बहाब परिवर्तन भएको वा अन्य कुनै तवरबाट सार्वजनिक वा सरकारी जग्गालाई निजी प्रयोगमा ल्याइएको छ वा छैन भन्ने हेरेर यकिन गरी मालपोत ऐन, २०३४ को दफा २४ समेतलाई दृष्टिगत गरी आवश्यक निर्णय गर्न मालपोत कार्यालय भक्तपुरका नाममा परमादेश जारी गरेको थियो । आदेशमा सार्वजनिक वा खोलाको बहाब क्षेत्र कायम हुनुपर्ने प्रस्ट पारिएको छ ।

    यस्तो थियो इतिहास 

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ स्थित दिव्यश्वरीको कित्ता नं. १०१२ को २८ रोपनी तीन आना दुई दाम २०३१ वैशाख २५ गतेको निर्णयानुसार कित्ताकाट भई कित्ता नं. ११२० र ११२१ कायम भएको थियो । कित्ता नं. ११२० को १७ रोपनी १४ आना जग्गा २०३१ वैशाख २५ गतेको निर्णयानुसार जगन्नाथ आचार्य (भक्तपुर जिल्ला लोकन्थली वडा नं. २) का नाममा कायम भएको थियो । उक्त जग्गा अहिले ४६ कित्ताकाट भएको छ । साथै कित्ता नं. १०१२ को २८ रोपनी तीन आना दुई दाम जग्गा खोलाको भए पनि भूमाफियाले कित्ताकाट गरी बिक्री गरेको पाइएको हो ।

    भूमाफियाबाट जग्गा किन्नेहरू स्थानीयवासी र आसपासका जिल्लाका छन् । २०४१ मा जग्गा दर्ता गरिएको जग्गा २०५३ पछि बिक्रीवितरण गरेको देखिन्छ । जलस्रोतविज्ञ दीपक ज्ञवालीका अनुसार पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनायता भूमाफियाले काठमाडौँ, ललितपुर र भक्तपुरका खोला, नदी अतिक्रमण तीव्र पारेका हुन् । उहाँले भन्नुभयो, “हनुमन्तेमा बाढीको प्रताडना हुनु पनि अतिक्रमणको परिणाम हो । अदालतको आदेश र नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालयसहितका पुराना दस्ताबेज अध्ययन गरेर भूमाफियालाई कारबाही र सार्वजनिक जग्गा कायम गर्नु पर्छ ।” गोरखापत्रबाट

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend