२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • बुटवल–गोरुसिङ्गे सडक : सडकभरिका खाल्टैखाल्टाले दुर्घटनाको...

बुटवल–गोरुसिङ्गे सडक : सडकभरिका खाल्टैखाल्टाले दुर्घटनाको जोखिम बढाउँदै

बुटवल–गोरुसिङ्गे सडक : सडकभरिका खाल्टैखाल्टाले दुर्घटनाको जोखिम बढाउँदै

सहर्ष न्युज
आइतवार, आषाढ १५ २०८२
सहर्ष न्युज
आइतवार, आषाढ १५ २०८२
  • बुटवल । बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा सडक किनारमा खनिएका ठुला खाल्डोमा पानी भरिँदा दुर्घटनाको जोखिम बढेको छ ।  सडक क्षेत्रका स्थानीयले सडक निर्माणको क्रममा गहिरो पारिएका खाल्डोमा पानी भरिँदा साना बालबालिका डुब्ने खतरा रहेको तथा तिनै खाल्डोमा सवारीसाधन पर्ने जोखिमसमेत बढेको भन्दै बुटवल–गोरुसिङ्गे सडक आयोजनाको ध्यानाकर्षण गराएका छन् । 

    सडक आयोजनाको रुपन्देही र कपिलवस्तु क्षेत्रमा गठन गरिएको नागारिक निगरानी समूहले मनसुन अवधिभर उक्त सडक किनारको क्षेत्र जोखिममा रहेको भन्दै जोखिम कम गर्नेतर्फ आयोजनाको ध्यानाकर्षण गराएको हो । नागारिक निगरानी समूहका अध्यक्ष छविलाल पाठकले सडक किनार र पुल बनाउन खनिएका खाल्डोमा परेर मानवीय जोखिम बढेको बताउनुभयो । उहाँले पुल बनाउने क्रममा खनिएको माटोका कारण खोलामा बाढी आउँदा खेत र बस्तीसम्मै पुग्ने अवस्था देखिएकाले पूर्वसतर्कता आवश्यक रहेको बताउनुभयो ।

    उहाँले मनसुनको समयमा उत्पन्न हुन सक्ने जोखिमलाई लिएर आयोजनालाई जोखिम क्षेत्रमा छिटो काम गर्न आग्रह गरेको बताउनुभयो । 

    बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवलका प्रमुख कुशलता न्यौपानेले सडक किनारमा थुपारिएको माटो तथा खनिएको खाल्डोका कारण जोखिम बढेको उल्लेख गर्दै जोखिम कम गरेर काम गर्न निर्माण पक्षलाई आग्रह गरिएको बताउनुभयो । 

    नागरिक निगरानी समूहले सडक विस्तारका क्रममा वरपिपल तथा स्वामीका रुख काटिएकोमा सडक क्षेत्राधिकार बाहिर तिनै प्रजातिको रुख वृक्षरोपण गरेको छ । नागरिक निगरानी समूहका सदस्य ऋषि आजादले बुटवलको जितगढीस्थित पाणिनि उद्यान समितिको क्षेत्रमा उक्त बिरुवा रोपिएको बताउनुभयो । 

    नागरिक निगरानी समूहका अध्यक्ष पाठकले वरपिपल, शमी, श्रीखण्ड र निमको बिरुवा लगाउन सडक किनारका स्थानीय बासिन्दालाई आग्रह गरेको बताउनुभयो । 

    बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा सडक किनारमा रहेका करिब तीन सय वरपिपलका रुख काटिएका थिए । आयोजनाका न्यौपानेले ५० किलोमिटर सडकखण्ड अन्तर्गत सडक क्षेत्रभित्र परेका करिब सात हजार रुख काटिएको बताउनुभयो । त्यसमध्ये करिब तीन सय वरपिपलका रुखसमेत काटिएको हो । 

    विसं २०१९ मा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो । सडक निर्माण सुरु भएको करिव चार महिनामा १० प्रतिशत भौतिक प्रगति भएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend