२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • मोहम्मद अफताव आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ...

मोहम्मद अफताव आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ दिएका न्यायाधीशद्वय थारू र महर्जन छानबिनमा

मोहम्मद अफताव आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ दिएका न्यायाधीशद्वय थारू र महर्जन छानबिनमा

सहर्ष न्युज
शुक्रवार, आषाढ ६ २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई जना न्यायाधीश फैसलाउपरको छानबिनका क्रममा न्याय परिषद्मा तानिनुभएको छ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ दिएका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जन छानबिनमा तानिनुभएको हो । 

    जिल्ला अदालतले जन्मकैद सजाय सुनाएका आलमसहितलाई उच्च अदालतबाट सफाइ भएपछि पीडित र अन्य पक्षले पनि परिषद्मा फैसला अनुसन्धान र न्यायाधीशमाथि कारबाही माग गर्दै उजुरी दिएका थिए । उजुरी अनुसन्धानका क्रममा न्यायाधीशद्वय थारू र महर्जनलाई परिषद्मा तानिएको हो । 

    परिषद्का एक सदस्यका अनुसार बिहीबार उक्त निर्णय भएको हो । न्यायाधीशद्वय थारू र महर्जन परिषद्मा अब दैनिक उपस्थित हुनुपर्ने छ । जेठ १४ गते न्यायाधीशद्वय थारू र महर्जनको इजलासले आलमसहित तीन जनालाई मुद्दामा सफाइ दिएको थियो । उक्त घटनामा मारिएका त्रिलोकप्रताप सिंहका बाबुले मङ्गलबार परिषद्मा उपस्थित भएर निवेदन दिनुभएको थियो । 

    विसं २०६४ मा संविधान सभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलमसहितलाई लागेको थियो । उक्त घटनामा कति व्यक्ति मारिएको भन्नेसमेत यकिन छैन । २०६४ चैत २७ गतेको घटनामा मुद्दा नचलाउने गरी सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालयसमेतबाट निर्णय भएको थियो तर सर्वोच्च अदालतबाट जाहेरी दर्ता र अनुसन्धानको आदेशपछि मात्र घटनाको १२ वर्षपछि २०७६ सालमा आलम पक्राउ पर्नुभएको थियो । 

    आलम पक्राउपछि अनुसन्धान हुनुका साथै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले आलमसहित तिनै जनालाई जन्मकैदको सजाय गरेको थियो । उच्च अदालतले पुनरावेदनको रोह (विधि) बाट सफाइ दिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend