२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • कुलमानको विषयमा विपक्षी आक्रामक, प्रतिनिधिसभा बैठकमा...

कुलमानको विषयमा विपक्षी आक्रामक, प्रतिनिधिसभा बैठकमा कुलमानको पक्षमा कसले के भने ?

कुलमानको विषयमा विपक्षी आक्रामक, प्रतिनिधिसभा बैठकमा कुलमानको पक्षमा कसले के भने ?

सहर्ष न्युज
बुधवार, फाल्गुण २१ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीलगायत विपक्षी दलहरुका सांसद्हरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा ढाल बनेर उभिए । उनीहरुले कुलमानको पक्षमा चर्को स्वरमा मात्र बोलेन्न कि उनलाई हटाए सदन र सडकबाट आन्दोलन गर्नेसम्मको चेतावनी दिए ।

    कुलमानलाई कसरी हटाउन सकिन्छ भनेर सरकारले पटकपटक स्पष्टीकरण सोधेर दुःख दिने काम गरेको भन्दै सरकारको त्यस शैलीको पनि उनीहरुले विरोध गरेका छन् । अरुभन्दा पनि देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्न सफल भएका व्यक्तिलाई असफलको ट्याग भिराएर निकाल्ने प्रपञ्च गरेको सांसदहरुको आरोप छ । आफ्नो काममा पहिलो भएका व्यक्तिको कार्यप्रगति शून्य देखाउनु सरकारको बदमासीपन भएकोसमेत बताए । उनीहरुले त्यस विषयमा सभामुखमार्फत सरकारलाई रुलिङ गर्न बाध्य बनाए ।

    प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले कुलमान घिसिङलाई सरकारले हटाउन खोजेको भनेर सरकारको ध्यानाकर्षण गरेका थिए ।

    सुरुमै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले घिसिङलाई सोधिएको स्पष्टीकरणको विषय उठायो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई सरकारले पटक-पटक स्पष्टीकरण सोधेर दु:ख दिइरहेको भन्दै सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्ने माग गरेका थिए ।

    उनले नेपालमा लोडसेडिङ हटाएको र लगातार घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएका कुलमानलाई हटाउन सरकारले अनेकौं प्रप्रञ्च गरिरहेको आरोप लगाउँदै आफूहरुले यसको विरोध गर्ने बताएका थिए ।

    ‘कुलमानलाई निरन्तर सरकारले प्रस्टीकरण सोध्ने कुरा हामी बारम्बार सुनिरहेका छौं । उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौं,’ उनले भने, ‘सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्ता  गरिरहेका छ । जसले विद्युत् प्राधिकरणलाई नाफामा लगेको छ । आमनागरिकले राम्रो भनेका छन् ।’

    माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले जसले राम्रो काम गरिरहेको छ उसलाई शून्य अंक किन दिइएको भन्दै प्रश्न गरेका थिए । सार्वजनिक संस्थानहरू घाटामा गइरहेको बेला घिसिङले प्राधिकरणलाई नाफामा लगिरहेको उनको भनाइ छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ हटाए त्यस्ता अन्य धेरै व्यक्ति सडकमा आउने चेतावनी दिए । उनले ‘एउटा कुलमानलाई लखेट्यौ भने हामी हजारौं कुलमान लिएर आउँछौं’ भन्दै सरकारलाई चेतावनी दिए ।

    यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका थिए । उनले भने, ‘यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुइटैबाट आवाज उठाउँछौं ।’

    राप्रपाकी अर्की सांसद विना लामाले प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नै कार्यसम्पादन मूल्यांकन हेर्न भन्दै प्रधानमन्त्री र मन्त्रीहरूले चाहिँ राजीनामा दिनुपर्ने कि नपर्ने भनी जवाफ मागिन् ।

    कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्‌मा विपक्षी दलहरुले प्रश्न गरेबमोजिम सभामुख देवराज घिमिरेले सरकारलाई जवाफ दिनका लागि रुलिङ समेत गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend