२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • कुलमानको पक्षमा उभिए ऊर्जा राज्यमन्त्री, भने–...

कुलमानको पक्षमा उभिए ऊर्जा राज्यमन्त्री, भने– ‘महसुल नतिर्नेको लाइन काट्न फिल्डमा उत्रिन्छु’

कुलमानको पक्षमा उभिए ऊर्जा राज्यमन्त्री, भने– ‘महसुल नतिर्नेको लाइन काट्न फिल्डमा उत्रिन्छु’

सहर्ष न्युज
सोमवार, फाल्गुण १९ २०८१
सहर्ष न्युज
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको महशुलको विषयमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम)को फरक धारणा आएको छ । उद्योगीहरुको समर्थनमा सरकारको धारणा आइरहेको समयमा सरकारकै राज्यमन्त्री तामाङको यस्तो धारणा आएको हो । राज्यमन्त्री तामाङले महशुल नतिर्ने उद्योगीको लाइन काट्न आफूले नेतृत्व गर्ने कडा धारणा सार्वजानिक गरेका हुन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे । 

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका उनले कुलमानलाई सोधिएको स्पष्टीकरण नै गलत रहेको दाबी गरे । उनले कुलमानलाई स्पष्टीकरण सोधिए पनि उनको गल्ती कसैले भेट्न नसकेको दाबी गरे । ‘स्पष्टीकरण त सोधियो तर, गल्ती के हो थाहा छैन । कुलमान भात खाँदा पनि डराउने मान्छे हो ? त्यस्तो मान्छेले प्राधिकरणमा केही गल्ती गर्‍यो होला त ?’, एक अनलाइन सञ्चार माध्यममा कुरा गर्दै भने, ‘उनले गल्ती गरेको हो भने कारबाही हुनुपर्छ तर, कारबाहीको लागि पनि गल्ती त भेट्नुपर्यो नि !’
     
    कुराकानीका क्रममा उनले कुलमानकै नेतृत्वमा देश लोडसेडिङ मुक्त भएको उल्लेख गर्दै कुलमानमा विद्युत् क्षेत्रको विकासबाहेक अरु चिन्ता नभएको दाबी गरे । ‘कसैलाई मन परेन भन्दैमा लखेटिरहन पाइन्छ ?, तामाङले भने । उनलाई कुलमानलाई कसले कारबाही गर्ने भन्ने नै स्पष्ट नभएको उल्लेख गर्दै भने, ‘तर, कारबाही गर्न खोज्ने मान्छेले कुनै प्रमाण भेटेन भनेचाहिँ त्यो चिठी लेख्ने मान्छेलाई कारबाही गर्ने कि नगर्ने ?’ ऊर्जामन्त्री दीपक खड्काले कुलमानलाई हटाउन खोजेपछि राज्यमन्त्री तामाङले विरोध गर्दै आएका छन् । स्मरणीय छ, मन्त्री खड्का र राज्यमन्त्री तामाङ एकै पार्टीका हुन् । तर, मन्त्रालयमा समेत यी दुईको खासै समन्वय नहुने बताइएको छ । 

    तामाङले पनि आफू र मन्त्रीले आ–आफ्नो काम गर्ने गरेको भन्दै समन्वय खासै नभएको स्वीकारे । 

    उनले चैत १० पछि आफू लाइन काट्न निस्कने भन्दै सबैको साथ खोजेको समेत बताए । उनले अदालतले नै महसुल तिर्न भनेकाले आफू त्यो कार्यान्वयन गर्न लागिपर्ने बताए । ‘पैसा तिरे लाइन जोडिन्छ । नत्र लाइन काटिन्छ’, यो स्पष्ट कुरा हो । 

    कांग्रेस रामेछापका सभापति समेत रहेका उनले सत्यको पक्षमा आफू उभिएको समेत बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend