काठमाडौं महानगरमा गाडी : कसैले लिए सुविधा, कोही परिरहेका छन् द्विविधा
काठमाडौं । काठमाडौं महानगरपालिकाकाका मेयर बालेन्द्र साहले महानगरवासीले बुझाएको करको व्यापक दुरुपयोग गरिरहेका छन् । मेयर साहको निर्देशनमा १३ विषयगत समितिका संयोजकहरुलाई दिएको गाडी सुविधाका कारण महानगरवासीको ठूलो रकम दुरुपयोग भएको हो । उक्त गाडी कसैले लिएर सुविधाको रुपमा प्रयोग गरिरहेका छन् भने कसैले लिनेकी नलिने भनेर द्विविधामा परिरहेका छन् ।
करोडौंको बजेट चलाउन पाउने अधिकार बोकेका मेयर साहले वडाध्यक्षलाई कामपाको विषयगत समितिका संयोजकको हैसियतमा आधा करोड पर्ने विद्युतीय र अन्य सवारीसाधन उपलब्ध गराएका छन् ।
नियम र कानुनमा नभएको विषयमा मेयर साहले वडाअध्यक्ष खुसी पार्न समितिका संयोजकलाई सवारीसाधन उपलब्ध गराएको पाइएको हो । १३ विषयगत समितिमध्ये ४ जना संयोजकले सुविधाको सवारी साधन चढ्न इन्कार गरेका छन् । बाँकी ९ जनाले सुविधा लिएका छन् ।
उच्च स्रोतका अनुसार मेयर साहले कार्यपालिकाको निर्णय पारित गराउन, समितिमा बजेट व्यवस्थापन गर्न र आफूअनुकूल काम गराउन समितिका सभापतिलाई सवारीसाधन उपलब्ध गराएका हुन् । स्रोतका अनुसार समितिका संयोजकबाहेक स्वकीयसचिव भूपदेव शाह र मेयरका प्राविधिक सल्लाहकार सुनील लम्सालले कामपाको सवारीसाधन प्रयोग गरिरहेका छन् । अन्य सल्लाहकारले पनि कामपाको गाडी प्रयोग गरेका छन् । तर, तथ्यांक छैन ।
मेयर साहले नियमविपरीत वातावरण व्यवस्थापन विभागमा कर्मचारीमा नियुक्ति गरेका भारतीय नागरिक अमित चौहानले वातावरण विभागको सवारीसाधन प्रयोग गरिरहेका छन् । सूचना प्रविधि संयोजक एवं प्रवक्ता नवीन मानन्धरले पेट्रोलबाट सञ्चालन हुने निशान जिप प्रयोग गर्नुभएको छ ।
कामपा–३२ का वडाअध्यक्ष एवं राजस्व समितिका संयोजक नवराज पराजुली, सुशासन समितिका संयोजक एवं २८ वडाका अध्यक्ष ख्याम तिवारी, विपद् व्यवस्थापन समितिका संयोजक एवं कामपा–३ का अध्यक्ष प्रेम थापा, भौतिक पूर्वाधार समितिका संयोजक एवं कामपा–१९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, कृषि तथा सहकारी समितिका संयोजक एवं कामपा–९ का अध्यक्ष रामजी भण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं कामपा–८ का अध्यक्ष आशामान संगत, सामाजिक समितिका संयोजक एवं कामपा–१० का अध्यक्ष रामकुमार केसी र वातावरण समितिका संयोजक एवं कामपा–१२ का अध्यक्ष बालकृष्ण महर्जन गरी ९ वडा अध्यक्षले करिब ५८ लाख रुपियाँ पर्ने विद्युतीय सवारीसाधन प्रयोग गरिरहेका छन् ।
प्रवक्ता मानन्धरबाहेक सबैले विद्युतीय सवारीसाधन प्रयोग गरिरहेका छन् । मानन्धरले पेट्रोलबाट चल्ने सवारी साधन चढ्ने गर्नुभएको छ । प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक मानन्धरले निसान गाडी लिनुभएको छ ।
केही संयोजकले भने सुविधा नलिएर द्विविधामा परिरहेका छन् । सुविधा नलिने समितिका संयोजकहरूमा सहरी व्यवस्थापन समितिका संयोजक एवं कामपा–११ का अध्यक्ष हीरालाल तण्डुकार, शिक्षा र स्वास्थ्य समितिका संयोजक एवं कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिका संयोजक एवं कामपा–२३ का अध्यक्ष मचाराजा महर्जन र वित्त समितिका संयोजक एवं कामपा–१५ का अध्यक्ष ईश्वरमान डंगोलसमेत ४ जनाले सवारी सुविधा लिएका छैनन् ।
वडावासीको कामका लागि खटिएका अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिनु गलत भएको सवारीसाधन नलिने संयोजकको भनाइ छ । अधिकांश वडा अध्यक्ष भन्छन्– ‘समितिका संयोजक भन्दैमा सवारी साधन दिनुपर्छ ? सबै वडाअध्यक्ष एकै हुन्, कोही ठूलो र सानो हुँदैन । सबै संयोजकलाई दिएको सवारीसाधन फिर्ता गर्नुपर्छ ।’
३२ मध्ये ९ जनाले मात्र सवारीसाधन सुविधा लिएर महानगरको सम्पत्ति दुरुपयोग गरेको असन्तुष्ट वडाध्यक्षको भनाइ छ । कामपाले सवारीसाधन सुविधा नलिएका वडाध्यक्षलाई २० लिटर पेट्रोलको व्यवस्था गरेको छ । गाडी सुविधा इन्कार गरेका संयोजकले कामपासँग कुनै पनि सुविधा नलिएको जनाएका छन् । मेयर साहको सचिवालयले करिब आधा दर्जन सवारी साधन प्रयोग गरिरहेको स्रोतको भनाइ छ । मेयर साह र उपमेयर सुनिता डंगोलले २–२ वटा सवारीसाधन प्रयोग गरेका छन् ।
