२०८३ भाद्र २७ गते शनिवार

images

विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
  • झापा । मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुलीबत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रुपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए ।

    उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको जानकारी दिए । वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजुलीबत्तीका लागि दुई लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ।

    आर्थिक अवस्थाका कारण खानेपानीको धारा जडान गर्न नसकेका ३० घरपरिवारको वडाले निःशुल्क रुपमा धारा जडान गरिरहेको वडाध्यक्ष बरालले बताए ।

    प्रतिघरमा दश हजार ५०० रुपैयाँ खर्च गरेर धारा जडान गर्ने काम भइरहेको उनको भनाइ छ । दुई वर्षअघि निर्वाचित बनेर आएका जनप्रतिनिधिको पहलमा वडाका सबै स्थानमा खानेपानी र बिजुलीबत्तीको पहुँच पुगेको छ ।

    शंकर टोलकी ६१ वर्षीया बुद्धमाया दर्जीले भनिन्, “वडाध्यक्ष हाम्रो भगवान जस्तै बनेर आउनुभएको छ, घर चुहियो भने टिन फेरिदिनुहुन्छ, पानीको धारा र बत्ती पनि निःशुल्क दिनुभयो ।”

    अध्यक्ष बरालले वडामा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले पाउँदै आएको सुरक्षाभत्ता समेत घरघरमा पुर्याइदिने व्यवस्था मिलाइदिएको जानकारी दिए ।- रासस

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend