सञ्चालनमा रहेका चौध निर्जीवन बिमा कम्पनी र चार वटा माइक्रो इन्स्योरेन्स कम्पनीको दाबी परेको सङ्ख्या र रकमसँग भुक्तानीको सङ्ख्या र रकममा धेरै ठुलो अन्तर छ ।
११ अर्ब १७ करोड ९६ हजार ९७४ रुपियाँ बराबरका दुई हजार ३५ वटा बिमा दाबी भुक्तानीको प्रतीक्षामा छन् । प्राधिकरणले छिटो र सरल रूपमा दाबी भुक्तानी गर्न कम्पनीलाई निर्देशन दिए पनि दाबी भुक्तानी ज्यादै न्यून हो । प्राधिकरणका अनुसार दाबी पर्ने क्रम चलिरहेकाले दाबी सङ्ख्या र रकम अझै बढ्दो छ ।
हालसम्म धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखरमा ४५७ वटा बिमा दाबी परेकामा अहिलेसम्म ४०७ वटा दाबीको भुक्तानी भइसकेको छ । सो कम्पनीमा एक अर्ब १५ करोड ९५ लाख ६८ हजार ८५९ रुपियाँ बराबरको दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म ३० करोड ७८ लाख २८ हजार ४८० रुपियाँ भुक्तानी भइसकेको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सिद्धार्थमा सर्वाधिक ५०८ वटा दाबी परेको छ । दाबी सङ्ख्याको तुलनामा ५० प्रतिशत पनि भुक्तानी भएको छैन । कम्पनीबाट भुक्तानी भएको दाबीको सङ्ख्या २१९ मा सीमित रहेको छ ।
सिद्धार्थमा दुई अर्ब ६२ करोड ८६ लाख ३४ हजार ५५ रुपियाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म २५ करोड ५२ लाख ९८ हजार ८२४ रुपियाँ भुक्तानी भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४२२ वटा बिमा दाबी परेका छन् भने अहिलेसम्म १३७ वटा मात्रै दाबीको भक्तानी भएको छ । सो कम्पनीमा एक अर्ब ३४ करोड ९५ लाख १२ हजार ११३ रुपियाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म १४ करोड ५४ लाख एक हजार ६२२ रुपियाँ भुक्तानी भएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सले दाबी परेकोमध्ये पाँच प्रतिशत मात्रै भुक्तानी गरेको छ । अजोडमा ३३३ वटा बिमा दाबी परेकामा ६२ वटाको मात्र दाबी भुक्तानी भएको छ ।
सो कम्पनीमा ७४ करोड ४५ लाख ३२ हजार ८८५ रुपियाँ बराबरको दाबी परेको छ भने त्यसको एक करोड २८ लाख ८४ हजार ७९९ रुपियाँल मात्रै अहिलेसम्म भुक्तानी गरेको छ । प्राधिकरणका अनुसार बिमालेखको प्रकार हेर्दा सम्पत्ति बिमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बिमा (निजी), मोटर बिमा (सार्वजनिक), सामुद्रिक बिमा, कृषिबाली बिमा, पशुपन्छी बिमा र विविध छन् ।
बिमा दाबी परेमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमा अन्तर्गत छन् । सम्पत्ति बिमामा एक हजार ७२५ वटा सङ्ख्यामा नौ अर्ब चार करोड ७७ लाख १२ हजार २९८ रुपियाँ बराबरको माग दाबी परेको छ । सबैभन्दा धेरै भुक्तानी पनि सम्पत्ति बिमामै भएको छ । हालसम्म सम्पत्ति बिमामा ६५१ वटा माग दाबीको ८७ करोड ४९ लाख ६० हजार ५३३ रुपियाँ बराबरको भुक्तानी भएको छ ।
सम्पत्तिपछि मोटर बिमा (निजी) मा ८९४ वटा सङ्ख्यामा ३७ करोड ४५ लाख ३५ हजार ६१६ रुपियाँ बराबरको माग दाबी परेको छ । यसमा पनि धेरै भुक्तानी भएको छ । हालसम्म मोटर बिमा (निजी) मा ८४ वटा माग दाबीको ११ करोड ५९ लाख ५० हजार ५९० रुपियाँ बराबरको भुक्तानी भएको छ ।
