काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।
शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’, नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रमा भनिएको छ ।
नेकपा एमालेले आज दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

बालेन शाह एमालेविरुद्ध परिचालित छन् : महासचिव शंकर पोख्रेल

नेकपा एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।
शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आयोजकले नै सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पर्चा पठाउनुले नै मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उनको दाबी छ ।
‘काठमाडौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ,’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’
महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरु कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भइरहेको उनले बताएका छन् । ‘तर पनि मेयरको ध्यान सरसफाइमा नभई जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो’, उनले लेखेका छन् ।
महासचिव पोख्रेलले एमालेको जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि भएको उल्लेख गरेका छन् ।
