२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • ९ महिनामा बैंक कर्जा वृद्धि सुस्त,...

९ महिनामा बैंक कर्जा वृद्धि सुस्त, आयात कर्जा बढ्दा घरजग्गा क्षेत्रमा गिरावट

९ महिनामा बैंक कर्जा वृद्धि सुस्त, आयात कर्जा बढ्दा घरजग्गा क्षेत्रमा गिरावट

सहर्ष न्युज
सोमवार, जेठ ४ २०८३
सहर्ष न्युज
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको वृद्धि सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तको तुलनामा चैत मसान्तसम्म कुल कर्जा प्रवाह केवल ५.७ प्रतिशतले बढेको हो।

    यो अवधिमा बैंक तथा वित्तीय संस्थाले थप ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चैत मसान्तसम्म कुल कर्जा रकम ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

    क्षेत्रगत रूपमा हेर्दा आयातसँग सम्बन्धित ट्रस्ट रिसिप्ट (टीआर) कर्जामा सबैभन्दा उच्च वृद्धि भएको छ। ट्रस्ट रिसिप्ट लोन भनेको आयात गरिएका सामान बिक्री नभएसम्म व्यापारीलाई उपलब्ध गराइने अल्पकालीन कर्जा हो।

    गत असार मसान्तको तुलनामा चैत मसान्तसम्म यस्तो कर्जा ३२ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब २५ अर्ब १८ करोड रुपैयाँ थियो। आयात कारोबार बढेसँगै टीआर कर्जामा उल्लेख्य वृद्धि भएको विश्लेषण गरिएको छ।

    यता घरजग्गा (रियल इस्टेट) क्षेत्रमा प्रवाह हुने कर्जा भने घटेको छ। राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म रियल इस्टेट कर्जा ३.५ प्रतिशतले ऋणात्मक भएको हो।

    गत असार मसान्तसम्म २ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ रहेको यस्तो कर्जा चैत मसान्तसम्म घटेर २ खर्ब ६६ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ। पछिल्लो समय घरजग्गा कारोबारमा आएको मन्दी र मूल्यमा आएको प्रभावका कारण यस क्षेत्रमा कर्जा प्रवाह घटेको मानिएको छ।

    तर ३ करोड रुपैयाँसम्मको आवासीय घरकर्जा भने बढ्दो क्रममा रहेको छ। चैत मसान्तसम्म यस्तो कर्जा ४ खर्ब ५८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म यो रकम ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ थियो।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आवासीय घरकर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याएपछि यस क्षेत्रमा कर्जा प्रवाह बढेको देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend