२०८३ श्रावण ११ गते सोमवार

images
  • मनोरन्जन
  • नेपाल कलाकार संघको चुनाव : गढीमाईको...

नेपाल कलाकार संघको चुनाव : गढीमाईको जात्रा जस्तै भीड, परिणामपछि फेरि सन्नाटा

नेपाल कलाकार संघको चुनाव : गढीमाईको जात्रा जस्तै भीड, परिणामपछि फेरि सन्नाटा

शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • नेपाल कलाकार संघ : छोटो परिचय
    वि.सं. २०४५ सालमा स्थापना भएको नेपाल कलाकार संघ नेपाली चलचित्र, नाटक, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा सक्रिय कलाकारहरूको साझा संस्था हो। कलाकारहरूको हकहित, सामाजिक सुरक्षा, पेशागत सम्मान र सांस्कृतिक संरक्षणका लागि स्थापना गरिएको यो संस्था अहिले भने आन्तरिक गुटबन्दी, राजनीति र निष्क्रियताको आरोपबीच विवादमा तानिने गरेको छ।

     

    काठमाडौं । नेपालमा कुनै पनि संघ–संस्थाको चुनाव नजिकिँदा जुन प्रकारको माहोल बन्छ, नेपाल कलाकार संघको चुनाव पनि अहिले त्यही दृश्यबाट गुज्रिरहेको छ। सामाजिक सञ्जालदेखि फिल्मी जमघटसम्म चुनावी चर्चा छ, प्यानल घोषणा छन्, आरोप–प्रत्यारोप छन्, मानौँ कलाकार क्षेत्रको भविष्य यही चुनावले तय गर्नेछ। तर विडम्बना, चुनाव सकिएपछि फेरि उही सन्नाटा छाउने पुरानै प्रवृत्ति दोहोरिने डर बढेको छ।

    कतिपय कलाकार स्वयंले यस अवस्थालाई “गढीमाईको जात्रा” सँग तुलना गर्न थालेका छन् — जात्रा लाग्दा अत्यधिक भीड, उत्साह र हलचल, तर सकिएपछि फेरि उही खालीपन। नेपाल कलाकार संघको चुनाव पनि अहिले त्यस्तै प्रतीक बन्न थालेको देखिन्छ। चुनावअघि ठूलाठूला प्रतिबद्धता गरिन्छन्, कलाकारको हकहितका भाषण सुनाइन्छन्, तर नेतृत्वमा पुगेपछि धेरै प्रतिबद्धता कागजमै सीमित हुने गरेको आरोप पुरानै हो।

    ३ गते हुन लागेको चुनावमा दुई पक्षबीच तीव्र भिडन्त देखिएको छ। उत्तम के सीको प्यानल र सबिन श्रेष्ठको प्यानल एक आपसमा प्रतिस्पर्दा गरिरहेका छन्। तर फेरी त्यहि प्रश्न उठ्न थालेको छ — यो भिडन्त वास्तवमै कलाकारको भविष्यका लागि हो कि केवल व्यक्तिगत शक्ति प्रदर्शनका लागि ? नेपाली चलचित्र उद्योग स्वयं संकटबाट गुज्रिरहेको अवस्थामा कलाकारहरू नै एक–अर्काविरुद्ध विभाजित हुनु अर्थहीन देखिन्छ।

    २०४५ सालमा स्थापना भएको नेपाल कलाकार संघ समयसँगै बलियो हुनुपर्ने थियो। तर गुटबन्दी, व्यक्तिगत स्वार्थ र राजनीतिक प्रभावकै कारण संस्था वृद्ध मात्र होइन, कमजोर बन्दै गएको टिप्पणी सुनिन थालेको छ। अहिले अवस्था यस्तो छ कि संस्था “अब ढल्न मात्र बाँकी” जस्तो अनुभूति धेरै कलाकारले गर्न थालेका छन्।

    नेपाली कलाकारिता क्षेत्र आफैं ओरालो यात्रामा छ। चलचित्रको व्यापार घट्दो छ, नयाँ कलाकारले अवसर पाउन संघर्ष गरिरहेका छन्, पुराना कलाकार काम नपाएर निष्क्रिय बन्दै गएका छन्। धेरै कलाकार विदेश पलायन हुन बाध्य भइरहेका छन्। यस्तो गम्भीर अवस्थामा कलाकार संघले कलाकारको भविष्य, रोजगारी र सुरक्षा माथि बहस गर्नुपर्ने हो। तर संघभित्र भने हावा राजनीति, गुटगत शक्ति र चुनावी तिक्तताले चरम सीमा नाघिरहेको देखिन्छ।

    सबैभन्दा दुःखद पक्ष त के छ भने, आजीवन सदस्य रहेका धेरै कलाकारलाई नै कलाकार संघको वास्तविक भूमिका, नीति, आर्थिक अवस्था वा कामबारे पर्याप्त जानकारी हुँदैन। चुनाव आउने बेला मात्र सदस्य खोज्ने, मत माग्ने र गुट बनाउने प्रवृत्तिले संस्थाप्रतिको विश्वास कमजोर बनाएको छ।

    कलाकार संघ कुनै राजनीतिक दलको भ्रातृ संगठन होइन, यो कलाकारहरूको साझा घर हुनुपर्ने संस्था हो। तर अहिलेको दृश्य हेर्दा कलाकारिता भन्दा राजनीति, सिर्जनशीलता भन्दा शक्ति संघर्ष र सहकार्यभन्दा विभाजन बढी देखिन थालेको छ।

    यदि अब पनि कलाकार संघले आफ्नो दिशा सुधार्न सकेन भने, भोलिका दिनमा कलाकारहरूकै विश्वास गुमाउने खतरा बढ्दै जानेछ। चुनाव केवल पद बाँड्ने माध्यम नभई कलाकारको भविष्य बचाउने अभियान बन्न सके मात्र यो संस्थाको अस्तित्व अर्थपूर्ण रहनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend