२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • मण्डला थिएटरमा ‘ग्राण्ड रिहर्सल’ले दर्शक बाँध्यो,...

मण्डला थिएटरमा ‘ग्राण्ड रिहर्सल’ले दर्शक बाँध्यो, जेठ ३ सम्म मञ्चन हुने

मण्डला थिएटरमा ‘ग्राण्ड रिहर्सल’ले दर्शक बाँध्यो, जेठ ३ सम्म मञ्चन हुने

सहर्ष न्युज
सोमवार, बैशाख २८ २०८३
सहर्ष न्युज
सोमवार, बैशाख २८ २०८३
  • नाटकभित्र नाटकको रोचक शैली, संघर्षरत कलाकारिता र रंगमञ्चको वास्तविकता एउटै मञ्चमा

    काठमाडौं । पहिलो दृश्यदेखि नै दर्शकलाई अन्योलमा पार्छ — मञ्चमा नाटक भइरहेको हो, कि नाटकको रिहर्सल ? कलाकारहरू अभिनय गरिरहेका हुन् कि अभिनय गरेजस्तो अभिनय ? यही द्विविधालाई मुख्य शैली बनाउँदै मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘ग्राण्ड रिहर्सल’ले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्छ ।

    रंगकर्मी उमेश तामाङ निर्देशित यो नाटकले हास्यरससँगै रंगमञ्चको संघर्ष, कलाकारको समर्पण र कलाप्रतिको लगावलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ । बेलायती लेखक हेनरी लेविस, जोनाथन सेयर र हेनरी थिएल्द्सको कथामा आधारित नाटकलाई अनुप न्यौपाने र उमेश तामाङले नेपाली परिवेशमा रूपान्तरण गरेका हुन् ।

    नाटकको कथा युवा निर्देशक राजा बाबु कार्कीको डेब्यू निर्देशन ‘बिहेको टुटुल्को’ वरिपरि घुम्छ । मञ्चन सुरु हुनुअघि नै निर्देशक पात्रले आफ्नो संघर्ष, अपेक्षा र रंगमञ्च यात्राका अनुभव दर्शकमाझ सुनाउँछन् । तर, नाटक सुरु भएसँगै सबै योजना बिग्रिन थाल्छन् । कलाकार रक्षा थापा मञ्चमै ढल्छिन्, प्रप्स अभाव हुन्छ, साउन्ड र लाइटिङ लगातार गडबडिन्छन् ।

    यही अव्यवस्थाबीच पनि कलाकारहरू अभिनय रोक्दैनन् । कसैले मट्टितेललाई ह्विस्की ठानेर पिउँछन्, कसैले कुच्चोलाई कलम बनाएर अभिनय गर्छन् । यही ‘जुगाड’ र भद्रगोलले नाटकलाई थप जीवन्त बनाएको छ ।

    ‘ग्राण्ड रिहर्सल’को सबैभन्दा बलियो पक्ष यसको संरचना हो । नाटकले परम्परागत “चौथो पर्खाल” भत्काउँदै दर्शकलाई प्रत्यक्ष रूपमा कथाभित्र तान्छ । कलाकारहरू दर्शकदीर्घाबाटै मञ्च प्रवेश गर्छन्, दर्शकसँग संवाद गर्छन्, र पर्दापछाडिको वास्तविक तनावसमेत खुला रूपमा देखाइन्छ ।

    नाटकमा साउन्ड डिजाइन र प्रकाश संयोजनको भूमिकालाई पनि हास्यात्मक ढंगले प्रस्तुत गरिएको छ । साउन्ड डिजाइनरले रमाइलो दृश्यमा गम्भीर धुन बजाइदिने, लाइट अपरेटरले आवश्यक समयमा प्रकाश नबाल्ने जस्ता घटनाले दर्शकलाई लगातार हँसाइरहन्छ ।

    कलाकारहरूको अभिनय पनि नाटकको मुख्य आकर्षण बनेको छ । रुजा राउत, सुजन घिमिरे, मिलन कार्की, अनुप न्यौपाने, सुदीप खत्रीवाडा, रक्षा थापा, सन्तोष गिरी, अमिर ताम्राकार, श्रीसेश श्रेष्ठ, बलबहादुर राई र राजा बाबु कार्कीलगायत कलाकारहरूले चरित्रअनुसार प्रभावशाली अभिनय प्रस्तुत गरेका छन् । अझ रोचक कुरा, कलाकारहरूको वास्तविक नाम एकअर्काको चरित्रमा साटिएको छ, जसले हास्यलाई थप प्रभावकारी बनाएको छ ।

    नाटकको सेट डिजाइन पनि कथासँगै चल्ने गरी तयार गरिएको छ । कहिले पर्दा खस्छ, कहिले ढोका घुम्छ, कहिले मञ्चको संरचना नै भत्किन खोज्छ । यस्ता अनपेक्षित घटनाबीच पनि कलाकारहरूले अभिनयलाई निरन्तरता दिन्छन् ।

    नाटकको मूल सन्देश पनि यही हो — परिस्थिति जस्तोसुकै भए पनि “सो मस्ट गो अन” । मञ्चमा जति अव्यवस्था र दुर्घटना भए पनि कलाकारहरूले प्रस्तुति अन्तिमसम्म पुर्‍याउँछन् । यही जिद, यही समर्पण र यही रंगमञ्चीय जीवन्तताले ‘ग्राण्ड रिहर्सल’लाई विशेष बनाएको छ।

    यो नाटक वैशाख ११ देखि जेठ ३ सम्म थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ । सोमबार बाहेक हरेक दिन साँझ ५:३० बजे शो हुनेछ भने शनिबार अतिरिक्त शो दिउँसो १:३० बजे राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend