काठमाडौं। मार्वल स्टुडियोले लामो समयदेखि प्रतीक्षित फिल्म एभेन्जर्स: डूम्सडेको आधिकारिक ट्रेलर युटुबमा सार्वजनिक गरेको छ, जसले सार्वजनिक भएको केही घण्टामै विश्वभरका सुपरहिरो प्रेमीहरूको ध्यान आफूतिर तानेको छ। यो बहुप्रतीक्षित फिल्म आगामी डिसेम्बर १८, २०२६ मा विश्वभरका सिनेमाघरहरूमा प्रदर्शनमा आउनेछ।
ट्रेलरको सबैभन्दा चर्चित पक्ष हो अभिनेता रोबर्ट डाउनी जुनियरको मार्वल सिनेमामा पुनरागमन — तर यसपटक परिचित आइरन म्यानको भूमिकामा होइन, बरु खलनायक डक्टर डूमको भूमिकामा। यद्यपि स्टुडियोले उनको यस पात्रको पृष्ठभूमि अझै पूर्णरूपमा खुलासा गरेको छैन, विश्लेषकहरूका अनुसार यो डूम अर्को समानान्तर ब्रह्माण्डको आइरन म्यानकै एक "भेरियन्ट" हुनसक्ने अनुमान गरिएको छ। ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्रै ५०३ मिलियन पटक हेरिएको छ, जुन हालसम्मकै इतिहासमा दोस्रो सबैभन्दा धेरै हेरिएको ट्रेलर लन्च बनेको छ।
ट्रेलरको सुरुवात एक्स-मेनसँग सम्बन्धित प्रोफेसर एक्सको विद्यालयको दृश्यबाट हुन्छ, जसले फ्रान्चाइजमा एक्स-मेन पात्रहरूको औपचारिक प्रवेशको संकेत गर्छ। यसपछि डक्टर डूमको मुखौटाको पहिलो झलक देखाइन्छ, र त्यसपछि फ्यान्टास्टिक फोर एभेन्जर्सको मुख्यालयमा प्रवेश गर्दै गरेको दृश्य देखिन्छ। फिल्ममा प्रोफेसर एक्स (प्याट्रिक स्टुअर्ट) को संवाद विशेष गरी चर्चामा छ, जसमा उनी भन्छन् — "केही आउँदैछ, जसलाई हामीले रोक्न सक्दैनौ। यो दिन सकिनुअघि, हामीले एउटा अकल्पनीय निर्णय लिनुपर्नेछ।" त्यसैगरी, थोर (क्रिस हेम्सवर्थ) ले डूमलाई पराजित गर्न "एउटा चमत्कार" चाहिने बताउँछन्, र त्यो चमत्कार क्याप्टेन अमेरिका (क्रिस इभान्स) को दीर्घ प्रतीक्षित फिर्ताको रूपमा देखा पर्छ — जुन सन् २०१९ को एभेन्जर्स: एन्डगेम पछि उनको पहिलो उपस्थिति हो।
अन्य रोचक दृश्यहरूमा ग्याम्बिट (च्यानिङ टाटम) र शाङ-ची (सिमु लिउ) बीचको भिडन्त, आफ्नै प्रतिकृतिसँग लडाई गर्दै येलेना बेलोभा (फ्लोरेन्स प्यु) र मिस्टिक र ट्रेलरको मुख्य सटमा थोरसँगको भिडन्तमा डक्टर डूमले हतियार स्टर्मब्रेकरलाई दुइ औलाले नै रोकिदिने दृश्य समावेश भएका छन्।
फिल्ममा मार्वल ब्रह्माण्डका लगभग सबै प्रमुख पात्रहरूको सहभागिता रहेको छ। एम सी युबाट फर्किने कलाकारहरूमा क्रिस हेम्सवर्थ, एन्थोनी म्याकी, ड्यानी रामिरेज, सेबास्टियन स्ट्यान, पल रड, टम हिड्लस्टन, लेटिशिया राइट, विन्स्टन ड्युक, सिमु लिउ र टेनोच ह्युर्टा पर्छन्। हालसालैका फिल्महरूमा देखा परेका फ्यान्टास्टिक फोर र थन्डरबोल्ट्स समूहका सदस्यहरू — पेड्रो पास्कल, भेनेसा किर्बी, जोसेफ क्विन, एबन मस-बाकाच, फ्लोरेन्स प्यु, डेभिड हार्बर, वायट रसेल, हाना जोन-क्यामेन र लुइस पुल्म्यान — पनि फिल्ममा सामेल हुनेछन्।
सबैभन्दा चर्चाको विषय भने एक्स-मेन फ्र्यान्चाइजका पुराना कलाकारहरूको एम सी युमा औपचारिक प्रवेश हो, जसमा प्याट्रिक स्टुअर्ट, इयान म्याककेलेन, केल्सी ग्रामर, एलन कमिङ, जेम्स मार्सडेन, च्यानिङ टाटम र रेबेका रोमिजन पर्छन्।
एभेन्जर्स: डूम्सडेले मार्वलको अर्को ठूलो फिल्म एभेन्जर्स: सिक्रेट वार्सको कथाभूमि तयार गर्नेछ, जुन डिसेम्बर १७, २०२७ मा प्रदर्शनमा आउने तालिका छ। यसरी हेर्दा, "डूम्सडे" वास्तवमा दुई-भागको ठूलो कथाक्रमको पहिलो चरण मात्र हो।
निर्देशक भाइहरू एन्थोनी र जो रुसो, जसले पहिले क्याप्टेन अमेरिका: द विन्टर सोल्जर, सिभिल वार, इन्फिनिटी वार र एन्डगेम जस्ता सफल फिल्महरू निर्देशन गरिसकेका छन्, यी दुवै आगामी एभेन्जर्स फिल्महरूको कमान सम्हालिरहेका छन्।
ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फ्यान्सहरूले डक्टर डूमको वास्तविक पहिचानबारे विभिन्न सिद्धान्तहरू (थ्योरीहरू) बनाउन थालिसकेका छन्, र फिल्मप्रतिको उत्साह दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ।
