२०८३ श्रावण ११ गते सोमवार

images

भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र

भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र

सहर्ष न्युज
मंगलवार, भाद्र १८ २०८१
सहर्ष न्युज
मंगलवार, भाद्र १८ २०८१
  •  

    आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार दुईवटा सबस्टेशनबाट छवटा फिडरमार्फत भूमिगत लाइन छोड्न तयारी गरिएको छ । सबस्टेशनमा आवश्यक पर्ने प्यानल समयमा आइनसक्दा ती फिडरबाट विद्युत् छोड्न कठिन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हेटौँडा ग्रिड कार्यालयले प्यानल ल्याउँदैछ । चाँडै फिडरहरूबाट विद्युत् छोड्ने तयारीमा हामी छौँ ।” एघार केभिए लाइन जडान भएका छवटा फिडर भूमिगत तवरबाट सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको भए पनि अन्डरग्राउण्ड गर्नका लागि सुरुआती प्वाइन्टमा प्रयोग हुने प्यानल अभावले लाइन छोड्न नसकिएको उहाँले बताउनुभयो । इन्जिनियर सुवेदीले भन्नुभयो, “बसेनी सबस्टेशन र आँपटारी सबस्टेशनमा प्यानल आउनासाथ काम सुरु हुन्छ ।”

    पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसेनीबाट भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीबाट पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडक थपिएको छ ।” केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइनमात्र भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो ।

    भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्र भूमिगत गर्न थालिएकामा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

    ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उहाँले बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend