मुख्य चार लेन सडक सञ्चालनमा, सेवामार्ग, पैदलमार्ग, नाली र सडक सुरक्षा संरचना निर्माण अझै बाँकी
तनहुँ : मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) को निर्माण सम्पन्न गर्ने समय पुनः थपिएको छ। निर्धारित अवधिभित्र सबै निर्माण कार्य सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद आगामी २०८३ फागुन ११ गतेसम्म विस्तार गरिएको हो।
मुग्लिङ–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर सहनशीला कायस्थका अनुसार मुख्य चार लेन सडकको कालोपत्रे कार्य सम्पन्न भइसके पनि सेवामार्ग (सर्भिस लेन), पैदलमार्ग, नाली, सडक सुरक्षा संरचना तथा अन्य सहायक पूर्वाधार निर्माण बाँकी रहेकाले म्याद थप्नुपरेको हो।
उहाँका अनुसार ३९ किलोमिटर लामो जामुने–पोखरा सडकखण्डमा मुख्य चार लेन सडकको कालोपत्रे सम्पन्न भइसकेको छ। विजयपुर क्षेत्रसहित सम्पूर्ण सडकखण्डमा चार लेन सडक सञ्चालनमा आइसकेको छ भने १२ वटै पुलको निर्माण पनि सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
थपिएको अवधिमा सेवामार्ग, पैदलमार्ग, नाली व्यवस्थापन, सडक सुरक्षा संरचना तथा सहरी क्षेत्रका आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने आयोजनाले जनाएको छ। विशेषगरी बजार क्षेत्र र घना बस्ती भएका स्थानमा पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न पैदलमार्ग निर्माणमा विशेष जोड दिइनेछ।
यस सडकखण्ड निर्माणको जिम्मा चीनको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनी ले लिएको छ। आयोजनाका अनुसार हालसम्म पश्चिम खण्डको भौतिक प्रगति ७३.५११ प्रतिशत र वित्तीय प्रगति ६५.७६ प्रतिशत पुगेको छ।
