२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • असारमा फेरि बढ्यो कर्णाली सरकारको खर्च:...

असारमा फेरि बढ्यो कर्णाली सरकारको खर्च: २१ दिनमै ३ अर्ब २० करोड खर्च, कुल प्रगति ४५.९२ प्रतिशत

असारमा फेरि बढ्यो कर्णाली सरकारको खर्च: २१ दिनमै ३ अर्ब २० करोड खर्च, कुल प्रगति ४५.९२ प्रतिशत

सहर्ष न्युज
बुधवार, आषाढ २४ २०८३
सहर्ष न्युज
बुधवार, आषाढ २४ २०८३
  • जेठसम्म ३६.२६ प्रतिशत मात्रै खर्च भएको बजेट असारमा तीव्र गतिमा कार्यान्वयन, बाँकी तीन दिनमा ५२ प्रतिशत पुग्ने अनुमान

    सुर्खेत। कर्णाली प्रदेश सरकारले अघिल्ला वर्षझैँ यस आर्थिक वर्षमा पनि असार महिनामा बजेट खर्चको गति उल्लेख्य रूपमा बढाएको छ। जेठ मसान्तसम्म सुस्त रहेको बजेट कार्यान्वयन असार लागेसँगै तीव्र बनेको हो।

    प्रदेश सरकारले असारको २१ दिनमै कुल बजेटको ९.६६ प्रतिशत अर्थात् ३ अर्ब २० करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ। जेठ मसान्तसम्म कुल बजेटको ३६.२६ प्रतिशत (१२ अर्ब ३ करोड ५६ लाख रुपैयाँ) मात्रै खर्च भएकोमा असार २१ गतेसम्म कुल खर्च ४५.९२ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २५ लाख ७७ हजार रुपैयाँ पुगेको छ।

    चालु आर्थिक वर्ष २०८२/८३ का लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत ललित थापाका अनुसार बाँकी तीन दिनमा थप करिब २ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यसपछि कुल बजेट खर्च करिब ५२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

    यद्यपि, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार मसान्तसम्म कुल बजेटको ६३.५२ प्रतिशत अर्थात् २० अर्ब ९६ करोड २० लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गर्नुभएको थियो। तर चालु वर्षको करिब १२ देखि १३ अर्ब रुपैयाँ बजेट खर्च हुन नसक्ने सरकारी अनुमान छ।

    आगामी आर्थिक वर्षको बजेटमा खर्चको स्रोत व्यवस्थापनका लागि ६ अर्ब ४१ करोड रुपैयाँ बचत रकमका रूपमा समावेश गरिएको छ।

    पुँजीगत खर्चतर्फ पनि अपेक्षित प्रगति हुन सकेको छैन। चालु आर्थिक वर्षमा १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकामा असार २१ गतेसम्म सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ३२.११ प्रतिशत अर्थात् ३ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ मात्रै खर्च गरेको छ।

    उक्त मन्त्रालयका लागि यस वर्ष १० अर्ब ७३ करोड १४ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको थियो। बजेट कार्यान्वयनको अधिकांश हिस्सा असारमा केन्द्रित हुने प्रवृत्ति भने यस वर्ष पनि दोहोरिएको देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend