२०८३ श्रावण १२ गते मंगलवार

images

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा ६ नेपालीसहित १३ जनाको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा ६ नेपालीसहित १३ जनाको मृत्यु

सहर्ष न्युज
शुक्रवार, श्रावण ३१ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण ३१ २०८२
  • कुवेत : कुवेतमा विषाक्त तथा अवैध मदिरा सेवनका कारण ६ नेपालीसहित १३ जना एसियाली नागरिकको ज्यान गएको पुष्टि भएको छ। मृतकमध्ये अधिकांश भारतीय रहेका छन् भने थप नेपालीको विवरण संकलन भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

    दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, घटनामा संलग्न बिरामीहरू विभिन्न अस्पतालमा उपचाररत छन्। "धेरैजना अस्पतालमा छन्, केहीको शव अस्पतालमै राखिएको छ," उनले बताए।

    नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै मृतक ६ नेपालीमध्ये ५ पुरुष र १ महिला रहेको जानकारी दिए। उनीहरूमध्ये २ जनाको मृत्यु आदान अस्पतालमा र ४ जनाको मृत्यु सालबिया क्षेत्रमा कम्पनीको मजदुर शिविरमा भएको हो।

    कुवेती समाचार संस्था Kuwait Times अनुसार, गत शनिबारदेखि विषाक्त मदिरा सेवनका कारण बिरामी पर्ने क्रम तीव्र भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म ६३ जना अस्पताल भर्ना भएका छन्, जसमा १३ जनाको मृत्यु भइसकेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५१ जनाले मिर्गौलाको डायलासिस गरिरहेका छन् भने २१ जनामा पूर्ण वा आंशिक दृष्टि गुमाउने समस्या देखिएको छ। त्यस्तै, ३१ जना बिरामीलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    प्रारम्भिक अनुसन्धानमा उक्त मदिरामा अत्यधिक मात्रामा मेथानोल प्रयोग गरिएको पुष्टि भएको छ। उद्योगमा इन्धन, एन्टिफ्रिज र सोल्भेन्ट बनाउन प्रयोग गरिने मेथानोल मानव शरीरका लागि अत्यन्त घातक हुन्छ। सामान्य मदिरामा पाइने एथानोल सेवनयोग्य भए पनि मेथानोलले दृष्टि गुम्ने, बान्ता, कोमा र मृत्युसम्म गराउन सक्ने अधिकारीहरूले बताएका छन्।

    कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए तापनि लुकिछिपी अवैध रूपमा उत्पादन र बिक्री हुने गरेको छ। हाल विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान जारी रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    कोरोना महामारीको समयमा पनि यस्तै घटनामा परेर १२ नेपालीको ज्यान गएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend