काठमाडौं । जनचेतनामुलक, हास्यप्रधान र रहस्यमय टेलि चलचित्र ‘कवाडी’को पहिलो श्रृंखला युट्युवबाट प्रशारण सुरु गरिएको छ ।
सहर्ष गणेश फिल्मको आधिकारिक युट्युव च्यानल (एसजीएफ) च्यानलबाट उक्त टेलिचलचित्र प्रशारण सुरु गरिएको हो ।
उक्त टेलि चलचित्रका निर्देशकद्वयमा बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल र विनोद के.सी. रहेका छन् ।
बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल, विनोद के.सी., पवन खतिवडा ‘बाबा’, अन्शु महर्जन ‘हात्ती’, सुष्मा सापकोटा, हिमानी यादव, सन्ध्या थापा, दिनेश दुलाल, स्यारोन रेग्मी, प्रशल पौडेललगायत कलाकारहरूको मूख्य अभिनय हेर्न सकिन्छ ।
रहस्यमय उक्त टेलि चलचित्रबाट चेतना, सूचनाका साथै भरपुर मनोरञ्जन लिन सकिने सामाग्री रहने छन् । टेलिचलचित्रमा चर्चित हाँस्य कलाकारहरुको बाहुल्यता रहेको छ ।
उक्त टेलिचलचित्रको कथाबस्तु ‘कवाडी’ शब्दको वास्तविक मर्ममा आधारित छ । ‘आफैं नसुध्रे कसले सुधार्छ ?’ भन्ने सन्देश दिन खोजिएको यस चलचित्रमा कथाको सार यसै विषयमा केन्द्रित रहेको छ ।
पहिलो श्रृंखला अपलोड गरिएको केही दिनमै लाखौं दर्शकको माया पाएकोमा निर्माता उत्साहित छन् । निर्माता कम्पनी खुत्रुके मिडिया प्रालिका अध्यक्ष प्रदीप थापाले छोटो समयमै दर्शकबाट राम्रो माया पाएको बताए । अध्यक्ष थापाले भने– ‘पहिलो श्रृंखलाले दर्शकबाट पाएको मायाले हामीलाई उत्साहित बनाएको छ ।’ यसले आफूहरुलाई छिटो–छिटो काम गर्ने हौसला समेत प्रदान गरेको उनको भनाई छ ।
कथावस्तु अनुसार तराईदेखि पहाडसम्म छायांकन हुने उक्त टेलि चलचित्रको अहिले विभिन्न ठाउँमा सुटिङ चलिरहेको छ ।
दोस्रो श्रृंखला पनि युट्युवमा चाँडै लिएर आउने उक्त कम्पनीका अध्यक्ष थापाले जानकारी दिए ।
मदिरा सेवन, अनैतिक गतिविधिवाट घरेलु तथा लैंगिक हिंसा मच्चाउँदै कुलतमा फसि घरवार तहस नहस बनेका दुव्र्यसनीहरुलाई निरुत्साहित गराउने लक्ष्य यस फिल्मको कथाभित्र समेटिने छ ।
‘पुरानो र थोत्रो सामान किन्ने बेच्ने मात्रै कवाडी होइन् ।’ यस टेलिचलचित्रको लेखक विनोद के.सी. भन्छन्– ‘सांभ्रान्त वर्गले निम्न वर्गलाई गर्ने व्यवहार र हिंसा पनि ‘कवाडी’ हो ।’
सरल भाषामा बुझ्ने हो भने ‘कवाडी’ भनिएका सानो आकारमा कारोवार गर्ने व्यापारी हुन् । उनीहरूलाई ‘कवाडी’ भनेर हेप्ने होइन् बरु काम नलाग्ने बस्तु पैसा तिरेरै हाम्रो फोहोर सफा गर्ने उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने लेखक के.सी.को जोड छ । ‘कवाडी भनेको काम नलाग्ने बस्तु हो । कवाडीको व्यापार गर्ने व्यापारी कवाडी व्यापारी हुन् ।’ यस कथाका लेखक के.सी. थप्छन्– ‘कवाडी सानो मात्रै हुन्न, काम नलाग्ने उद्योगको ठूला–ठूला करोडौंको मूल्य पर्ने सामान पनि कवाडी हो ।’
निर्माण पक्षले कथाबस्तुमा यो कुरा पनि समेटिने छ भने कवाडी व्यापारमा संलग्न तराईवासीलाई हेप्ने प्रबृतिको अन्त्य गर्दै यो टेलि चलचित्रले तराईवासी र पहाडीबीचको दुरीलाई कम गर्न मद्दत पुग्ने समेत विश्वास लिएको छ ।
केही समय अघिमात्र स्थापना भएको खुत्रुके मिडियाले यसअघि विनोद के.सी.को लेखन तथा निर्देशनमा ‘माझीको छोरी’ नामक म्युजिक भिडियो बजारमा ल्याइसकेको छ ।
खुत्रुके मिडियाले ‘जे देख्छ, त्यही लेख्छ’ नाराका साथ अर्थ–राजनीति अनलाइन न्युजपोर्टल ‘सहर्षन्युज डट कम’ समेत सञ्चालन गरिरहेको छ ।
