२०८३ भाद्र २८ गते आइतवार

images
  • शिक्षा
  • विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन...

विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन महानगरको निर्देशन, विद्यालयका सटर बन्द गर्ने

विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन महानगरको निर्देशन, विद्यालयका सटर बन्द गर्ने

सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ । कतिपय विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन विद्यालयहरूलाई भनेको छ ।

    ‘सामुदायिक विद्यालयमा सबै निःशुल्क गरेका छौं । विद्यालयमा लाग्ने खर्च महानगरले बेहोर्छ,’ प्रवक्ता नवीन मानन्धरले भने ।

    अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोसाक, खाजा, अतिरिक्त कक्षा लगायतका शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले विद्यालयलाई नलिन भनेको हो ।

    संविधानले निःशुल्क तथा अनिवार्य शिक्षा भनेको र २०७५ मा बनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई महानगरले कार्यान्यन गर्न लागेको हो ।

    ‘ऐन कार्यान्वयन गर्न निःशुल्क गरेका हौं,’ सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले भने ।

    आगामी सोमबारदेखि महानगरका विद्यालयमा त्रैमासिक परीक्षा सञ्चालन हुँदैछ । यो परीक्षाको सम्पूर्ण खर्च महानगरले गर्ने भएको छ ।

    ‘सामुदायिक विद्यालयको कक्षा ४ देखि १० सम्मका द्वितीय त्रैमासिक परीक्षाको कार्यतालिका देहायबमोजिम भएको बेहोरा जानकारीका लागि अनुरोध छ । सोही कार्यतालिका बमोजिम परीक्षाको तयारी गर्नु/गराउनु हुन अनुरोध छ ,’ महानगरको सूचनामा भनिएको छ ।

    महानगरपालिकाको शैक्षिक क्यालेन्डर बमोजिम त्रैमासिक तथा वार्षिक परीक्षाको प्रश्नपत्र विकास, छपाई तथा वितरण कार्यमा एकरूपता कायम गर्न महानगरले व्यवस्थापन गर्ने पत्रमा भनिएको छ ।

    ‘परीक्षा गुणस्तरीय बनाउन महानगरले एकरूपता कायम गर्न लागेको हो,’ झाले भने ।

    काठमडौं महानगरले सबै खर्च बेहोर्ने भएपछि विद्यालयले भाडामा लगाएको सटर बन्द गर्ने अभियान चलाएको छ ।

    झाका अनुसार ३२ वटा विद्यालयले ३१८ सटर सञ्चालन गरेका छन् । जसमध्ये २७७ वटा सटर महानगरले बन्द गरेको छ । दुई वटा भवन पनि विद्यालयले भाडामा लगाएको पाइएको छ ।

    ‘विद्यालयको आन्तरिक स्रोत सटर रहेछ । सबै खर्च महानगरले गर्ने भएपछि सटर बन्द गर्न लागाएका हौं,’ झाले भने, ‘विद्यालयलाई पैसा अपुग भयो भने महानगरले दिन्छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend