२०८३ श्रावण ११ गते सोमवार

images
  • कृषि
  • खाद्यद्वारा एक महिनामा ७४८ दशमलब ४७...

खाद्यद्वारा एक महिनामा ७४८ दशमलब ४७ क्विन्टल बढी धान खरिद

खाद्यद्वारा एक महिनामा ७४८ दशमलब ४७ क्विन्टल बढी धान खरिद

सहर्ष न्युज
बिहिवार, मंसिर २० २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर २० २०८१
  • खजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले एक महिनामा बाँकेका किसानहरुसँग २२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।

    गत कात्तिक २० गते मङ्गलबारबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले मङ्सिर १९ गतेसम्म एक महिनाको अवधिमा २२ हजार ७४८ दशमलब ४७ क्विन्टल धान खरिद गरिसकेको जनाएको हो ।

    गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतीमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको छ । 

    ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले पछि मध्यम धानलाई १५ हजार क्विन्टल थप गरी ५५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

    “यस वर्ष हामीले नेपालगन्ज कार्यालयबाट ३० हजार क्विन्टल मोटा र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विनटल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, यहाँका किसानहरुले मध्यम धानको खेती बढी गर्ने गरेको पाइयो, किसानहरुले धेरैजसो मध्यम धान बिक्री गर्न ल्याउनुभयो ।” लामिछानेले भन्नुभयो, “मध्यम धान धेरै आएपछि केन्द्रीय कार्यालयसँगको समन्वयमा मध्यम धान थप १५ हजार क्विन्टल खरिद गर्नेगरी कुल ५५ हजार क्विन्टलको लक्ष्य राखेका छौँ ।”

    बाँकेका किसानहरु पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । “२५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म १९ हजारभन्दा बढी क्विन्टल खरिद गरिसकेका छौँ, हामीले २५ हजारभन्दा बढी खरिद गर्न सक्दैनौँ ।” लामिछानेले भन्नुभयो, “लिमिटेसन पूरा भइसकेपछि यदी कोही किसान मध्यम धान बिक्री गर्न इच्छुक भए मोटा धानको मूल्यमा खरिद गर्न सक्छौँ तर मध्यम धानको मूल्यमा खरिद गर्न सक्दैनौँ ।”

    गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो । “गत वर्ष हामीले ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, लक्ष्य भन्दा निकै कम जम्मा आठ हजार क्विन्टल मात्र खरिद गर्न सक्यौँ ।” लामिछानेले भन्नुभयो, “गत वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बजारमा किसानहरुले बढी मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरुमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।”

    गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पूरा गर्न सकिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिन अगाडिबाट सुरु गरेका छौँ, त्यसकारण यो वर्ष लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका छौँ ।” लामिछानेले भन्नुभयो, “गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यसवर्ष बजारको मूल्य भन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा पनि लक्ष्य पूरा गर्ने आशामा छौँ ।”

    यो एक महिनाको अवधिमा मोटा धान ३२९०.९९ क्विन्टल र मध्यम धान १९४५७.४८ गरी २२७४८.४७ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो । मोटा धानको तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मुल्यमा किसानसँग धान खरिद गरिरहेको घिमिरेले बताउनुभयो ।

    “एक महिनाको अवधिमा धान बिक्री गर्नका लागि ६७१ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसक्नुभएको छ, अहिलेसम्म ४०३ जना किसानसँग धान खरिद गरिसकेका छौँ ।” सूचना अधिकारी घिमिरेले भन्नुभयो, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्वीन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”

    धान खरिद गर्नुअघि किसानहरुले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “पहिला पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउन पूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नभुयो ।

    कम्पनीले यो एक महिनाको अवधिमा बाँकेका किसानसँग आठ करोड आठ लाख ९३ हजार रुपियाँभन्दा बढीको धान खरिद गरेको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend