२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • मूल्य नपाउँदा गोरखाका किसान आक्रोशित, सडकमै...

मूल्य नपाउँदा गोरखाका किसान आक्रोशित, सडकमै भण्टा र बोडी फालेर विरोध

मूल्य नपाउँदा गोरखाका किसान आक्रोशित, सडकमै भण्टा र बोडी फालेर विरोध

सहर्ष न्युज
सोमवार, आषाढ २२ २०८३
सहर्ष न्युज
सोमवार, आषाढ २२ २०८३
  • लागतसमेत नउठ्ने मूल्य पाएपछि व्यावसायिक तरकारी किसान निराश, न्यूनतम समर्थन मूल्य र बजार सुनिश्चित गर्न सरकारसँग माग

    गोरखा : गोरखाको गण्डकी गाउँपालिका–७ र ८ अन्तर्गत घ्याल्चोकका व्यावसायिक तरकारी किसान उत्पादनको उचित मूल्य नपाउँदा गम्भीर संकटमा परेका छन्। व्यापारीले लागतभन्दा निकै कम मूल्य प्रस्ताव गरेपछि केही किसानले विरोधस्वरूप सडकमै भण्टा र बोडी फाल्न थालेका छन् भने कतिपयले बारीमै तरकारी छोड्न बाध्य भएका छन्।

    स्थानीय किसान देवेन्द्र भुजेलले दुई क्विन्टल भण्टा बजार पठाउन टिपाइ, बोरा तथा ढुवानीलगायतमा करिब ६८० रुपैयाँ खर्च भएको भए पनि व्यापारीले प्रतिकेजी ५ रुपैयाँ मात्रै दिने बताएपछि सडकमा भण्टा फालेर विरोध जनाएको बताउनुभयो।

    उहाँका अनुसार दुई क्विन्टल भण्टा बिक्री गर्दा जम्मा १ हजार २०० रुपैयाँ आम्दानी हुने अवस्था रहेकाले उत्पादन लागतसमेत नउठ्ने भएपछि यस्तो कदम चाल्नुपरेको हो।

    २०७६ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भुजेलले यस वर्ष ४ रोपनी ८ आनामा भण्टा खेती गर्नुभएको छ। उहाँका अनुसार भण्टामात्र होइन, बोडी र काँक्रोको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ। हाल काँक्रो प्रतिकेजी १० रुपैयाँ र बोडी ५ देखि १२ रुपैयाँसम्ममा मात्र बिक्री भइरहेको छ।

    घ्याल्चोककै अर्का किसान ईश्वर अधिकारीले पनि लागतभन्दा निकै कम मूल्य पाएपछि बारीबाट टिपेको बोडी सडकमै फालेर असन्तुष्टि जनाउनुभएको छ। उहाँका अनुसार गत वर्ष यही समयमा प्रतिकेजी १८० रुपैयाँसम्म बिक्री भएको बोडी यस वर्ष अत्यन्त न्यून मूल्यमा झरेपछि किसान निराश बनेका छन्।

    तीन दशकदेखि तरकारी उत्पादनको केन्द्र, अहिले बजार संकट

    व्यावसायिक तरकारी उत्पादनका लागि तीन दशकदेखि परिचित घ्याल्चोकबाट काठमाडौंसम्म तरकारी आपूर्ति हुँदै आएको छ। तर यस वर्ष बजार मूल्यमा आएको तीव्र गिरावटका कारण किसानको मेहनत र लगानी दुवै जोखिममा परेको छ।

    किसानका अनुसार मलको अभाव, उत्पादन लागतमा भएको वृद्धि र बजारमा उचित मूल्य नपाउने समस्याले व्यावसायिक खेतीप्रतिको आकर्षण घट्दै गएको छ।

    सरकारसँग न्यूनतम समर्थन मूल्यको माग

    किसानहरूले उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि उपजको सुनिश्चित बजार व्यवस्था गर्न र किसानमैत्री कृषि नीति लागू गर्न सरकारसँग माग गरेका छन्।

    उनीहरूले समयमै प्रभावकारी हस्तक्षेप नभए व्यावसायिक तरकारी खेती नै संकटमा पर्ने चेतावनी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend