२०८३ श्रावण १२ गते मंगलवार

images
  • सेयर बजार
  • धितोपत्र बोर्डको बागडोर व्यवसायी सन्तोषनारायण श्रेष्ठको...

धितोपत्र बोर्डको बागडोर व्यवसायी सन्तोषनारायण श्रेष्ठको हातमा

धितोपत्र बोर्डको बागडोर व्यवसायी सन्तोषनारायण श्रेष्ठको हातमा

सहर्ष न्युज
मंगलवार, मंसिर ११ २०८१
सहर्ष न्युज
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । अन्ततः व्यवसायी सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष बन्नुभएको छ । करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको हो ।

    सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनोट भएका पाँच उम्मेदवारमध्ये सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

    बोर्डको अध्यक्षमा नियुक्त श्रेष्ठ व्यवसायी हुनुहुन्छ । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ बुटवलमा बस्दै आउनुभएको छ । काठमाडौँ विश्वविद्यालयबाट एमबिए उत्तीर्ण श्रेष्ठले स्वाभिमान लघुवित्त र नेपाल एक्सप्रेस फाइनान्सको अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरिसक्नुभएको छ ।

    तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि २०८० पुस २१ गतेदेखि बोर्ड नेतृत्वविहीन थियो । बोर्ड नेतृत्वविहीन बन्दा प्राथमिक सेयर निष्कासन (आइपिओ), थप निष्कासन प्रक्रिया (एफपिओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया ठप्प छ  । बोर्डका अनुसार शुक्रबारसम्म ७७ वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले ४४ अर्ब ७५ करोड ४६ लाख रुपियाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यस्तै ऋणपत्र, हकप्रद, एफपिओलगायत धितोपत्र जारी गर्न परेको आवेदन दिने कम्पनीहरूको सङ्ख्या पनि ११ महिने अवधिमा चुलिएका छन् ।

    धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनोट गरेर अन्तिम निर्णयका लागि मन्त्रीपरिषद्मा पठाउने व्यवस्था रहेको छ । सोहीअनुसार समितिले सिफारिस गरेका तीन जनाबाट मन्त्रीपरिषद्ले श्रेष्ठलाई अध्यक्षका लागि छनोट गरेको हो ।

    पहिलो चरणको अन्तर्वार्ताबाट छनोट भएका पाँच उम्मेदवारमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने आइतबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । पहिलो चरणमा छानिए पनि कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा चिरञ्जीवी चापागाईं सहभागी हुनुभएन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend