काठमाडौं । विश्वकै अग्रणी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले इतिहासकै सबैभन्दा ठूलो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) ल्याउने तयारी गरेको छ। कम्पनीले सेयर बिक्रीमार्फत करिब ७५ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इलन मस्कद्वारा स्थापित स्पेस एक्सको आईपीओ दुई चरणमा निष्कासन गरिने बताइएको छ। पहिलो चरणमा सेक्युरिटिज कम्पनीहरूमार्फत सेयर बिक्री गरिनेछ भने दोस्रो चरणमा बुक बिल्डिङ प्रक्रियाबाट लगानीकर्तालाई सेयर उपलब्ध गराइनेछ।
कम्पनीले जुन ४ देखि रोडशो सुरु गरिसकेको छ भने जुन ११ देखि बुक बिल्डिङमार्फत प्रतिशेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गरी बिक्री प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
मूल्यांकन १.८ ट्रिलियन डलरसम्म पुग्ने अनुमान
विश्लेषकहरूका अनुसार आईपीओपछि स्पेस एक्सको कुल मूल्यांकन १.५ ट्रिलियनदेखि १.८ ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्छ। यसले कम्पनीलाई विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनीमध्ये एक बनाउनेछ।
स्पेस एक्सले रकेट प्रक्षेपण व्यवसायमा विश्वव्यापी नेतृत्व कायम गरेको छ। कम्पनीको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाले विश्वभर करोडौं ग्राहकलाई सेवा दिइरहेको छ।
त्यस्तै, स्टारसिप रकेट कार्यक्रम तथा भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अभियान सञ्चालन गर्ने महत्वाकांक्षी योजनाले पनि कम्पनीको मूल्यमा ठूलो योगदान पुर्याएको छ।
अन्तरिक्ष क्षेत्रमा नयाँ क्रान्ति
आंशिक रूपमा पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको विकास गरेर स्पेस एक्सले अन्तरिक्ष उद्योगमा नयाँ क्रान्ति ल्याएको मानिन्छ। यस प्रविधिका कारण अन्तरिक्ष यात्रा र उपग्रह प्रक्षेपणको लागत उल्लेखनीय रूपमा घटेको छ।
कम्पनीको स्टारलिंक परियोजनाले दुर्गम क्षेत्रहरूमा समेत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
नेपाली लगानीकर्ताले सेयर किन्न सक्छन् ?
सैद्धान्तिक रूपमा स्पेस एक्सको आईपीओ वा भविष्यमा अमेरिकी सेयर बजार नास्दाकमा सूचीकरण भएपछि अन्तर्राष्ट्रिय ब्रोकरेज प्लेटफर्ममार्फत सेयर खरिद गर्न सकिन्छ।
तर हाल नेपालमा प्रत्यक्ष रूपमा विदेशी सेयर बजारमा लगानी गर्न दिने कानुनी तथा नीतिगत व्यवस्था नभएकाले नेपालभित्र रहेका नेपाली लगानीकर्ताले स्पेस एक्सको आईपीओमा सहभागी हुन सक्ने अवस्था छैन।
यद्यपि विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले आफू बसोबास गर्ने देशको कानुन तथा वित्तीय नियमअनुसार स्पेस एक्सको सेयरमा लगानी गर्न सक्नेछन्।
अमेरिकामा रहेका नेपालका सेयर बिश्लेषकहरु के भन्छन् ?
बिजय घिमिरे, पत्रकार/सेयर बिश्लेषक
स्पेशएक्स एलन मक्सको कम्पनीले ७५ अर्ब अमेरिकी डलर वरावरको शेयर जारी गर्दै छ । यो शेयर किन्न हुन्छ हुदैंन नेपाली समुदायमा पनि चर्चाको विषय वनेको छ । स्याटेलाइट रकेट र अन्तरिक्ष यात्रासंग सम्वन्धित यो कम्पनीको सार्वजनिक शेयर निष्काशन (आईपीओ) ले अमेरिकाको वित्तीय बजारमा पनि चर्चाको विषय वनेको छ । स्पेशएक्स कम्पनीको कुल मुल्यांकन १ दशमलव ७५ ट्रिलियन गरिएको छ । शुरुमा प्रति शेयर १३५ डलर राखेर विक्री गर्न लागिएको छ । स्टेलाइटवाट सिधैं इन्टरनेट विक्री गर्ने स्टारलिंक पनि यही कम्पनी भित्र पर्छ । यसवाट स्पेशएक्सले पैसा प्राप्त गरिरहेको छ । तर, पनि स्पेशएक्स अहिलेसम्म नोक्सानमा छ । त्यसैले कयौं वित्तीय विश्लेषकहरुले एपेशएक्सको मूल्यांकनलाई अतिनै वढी भनेका छन् ।
अन्तरिक्ष यात्रामा लगानी पनि खर्चिलो र जोखिम युक्त हो । शेयरमा लगानी कम्पनीसंग सम्वन्धित को को छन् त्यसले पनि फरक पार्छ । टेस्ला गाडी कम्पनीका मालिक मक्स चटपटे खालका काम गर्छन । तर, पनि उनी विश्वकै सवैभन्दा धनी व्यक्तिमा पर्छन । जोखिम नलिईकन फाइदा हुदैंन । फेरी जोखिम लिदां बचत डुब्नपनि सक्छ । सोच विचार गरी क्षमता अनुसार लगानीगर्दा जोखिम कम गर्न सकिन्छ । अहिले राखिएको मूल्य अनुसार स्पेशएक्समा ५ हजार डलर लगानीगर्दा करिव ३७ शेयर आउंछ । यसको प्रति शेयर बढेर २०० डलर भयो भने करिव २५०० डलर फाइदा हुन्छ ।
नारायण सापकोटा, पत्रकार/सेयर बिश्लेषक
स्पेसएक्स SpaceX (SPCX) को आगामी ऐतिहासिक आईपीओ (IPO) ले कम्पनीको बजार मूल्याङ्कनमा भारी वृद्धि ल्याएर एलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर बनाउन सक्छ। कम्पनीले प्रति सेयर १३५ डलरका दरले सेयर जारी गर्दै आफ्नो कुल बजार मूल्य १.७७ ट्रिलियन डलर पुर्याउने लक्ष्य राखेको छ। हाल मस्कको कुल सम्पत्ति ८२६ अर्ब डलर रहेको छ, जसमा स्पेसएक्सको ४२% हिस्सेदारीबापत ५४२ अर्ब डलर सामेल छ। नयाँ आइपिओ मार्फत कम्पनीको मूल्याङ्कन बढ्दा मस्कको सम्पत्तिमा थप २२३ अर्ब डलर थपिनेछ, जसले उनको कुल सम्पत्तिलाई १ ट्रिलियन डलर पार गराउनेछ। यद्यपि, यो सम्पत्ति सेयरकै रूपमा रहने भएकाले बजारको उतारचढावमा निर्भर हुनेछ।
रामचन्द्र भट्ट, पत्रकार/सेयर बिश्लेषक
यो फन्टुसेले राजनीतिमा लागेर व्यवसायीक साख, भविष्य, शेयरहोल्डरको आशा सबै सक्यो । यसको क्लाईमेक्स यत्ति हो । कसैले पनि शेयर नकिन्दा ठीक हुन्छ । भोली रुवाबासी गरेर कुनै फाईदा छैन ।