काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले केही दिनदेखि मनलाग्दी भाडा असुलेसंगै सरकारले यस विषयमा चासो दिएको छ ।
पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय हवाइ कम्पनी तथा ट्राभल एजेन्सीलगायत क्षेत्रहरुले कालोबजारी गर्दै अस्वाभिक रुपमा टिकट मूल्य लिएसंगै वैदेशिक रोजगारीमा जाने नागरिकहरु मारमा परेको छन।
हवाई कम्पनीहरुले सामान्य अवस्थामा कायम भएको मूल्य भन्दा ४ सय प्रतिसत सम्म मूल्य बढाएको जनगुनासो रहेको छ । उक्त विषयमा सरकारले चासो देखाएर सरोकावालाहरुसंग छलफल गरि भएको निर्णय कार्यन्वयन नहुदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा नघटाए सरकारले कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
हवाई भाडा वृद्धि नियन्त्रणबारे सरोकारवालासँग बुधबार भएको छलफलपछि मन्त्री पाण्डेले हवाई भाडा नियन्त्रणका लागि भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन दिएका छन् ।
“हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारपन देखाइएकाले नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ ।” उनले भने ।
मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत महँगो हवाई भाडा लिएकोप्रति सचेत गराउँदै हालै बिक्री भएका टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।
हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको र तुरुन्तै परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबिच बसेको बैठकमा समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरी नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरिएको मन्त्री पाण्डेले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट गरेको जानकारी दिए ।
