काठमाडौँ। बेलायतको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयका रसायनशास्त्रीहरूले आफ्नै एउटा असफल प्रयोगबाट औषधि निर्माण क्षेत्रमा ठूलो महत्त्व राख्ने नयाँ प्रविधि पत्ता लगाएका छन्। यो अध्ययन नेचर सिन्थेसिस नामक प्रतिष्ठित जर्नलमा प्रकाशित भएको छ, र यसको नेतृत्व सेन्ट जोन्स कलेज स्थित प्रोफेसर एर्विन रेस्नेर र पी एच डी अनुसन्धानकर्ता डेविड भाहेले गरेका थिए।
टोली सामान्यतया प्रयोग हुँदै आएको एउटा पुरानो रासायनिक विधि (Friedel–Crafts प्रतिक्रिया) मा काम गरिरहेको थियो। यो परम्परागत विधिले औषधिको अणु बनाउन कडा रसायन वा महँगो धातु उत्प्रेरक चाहिन्छ, र यो जटिल विधि औषधि निर्माणको सुरुवाती चरणमा मात्र प्रयोग गर्न मिल्छ। पछि थप धेरै चरण गुज्रेर मात्र अन्तिम औषधि तयार हुन्छ।
एकदिन गरिएको प्रयोगले भने अपेक्षित नतिजा दिएन। तर वैज्ञानिकहरूले त्यसलाई असफलता भनेर छोड्नुको सट्टा नजिकबाट केलाए। र त्यहाँ उनीहरूले नितान्त नयाँ र अनपेक्षित रासायनिक बाटो भेट्टाए — जुन कसैले पनि पहिले सोचेकै थिएन।
नयाँ पत्ता लागेको यो प्रविधिमा भारी धातु उत्प्रेरक वा उच्च तापक्रम जरुरी पर्दैन। यसको साटो, साधारण कोठाकै तापक्रममा एउटा एल ई डी (LED) बत्तीले प्रतिक्रिया सुरु गराइदिन्छ। बत्तीले उत्पन्न गरेको यो प्रतिक्रिया आफैं अगाडि बढ्दै जान्छ (self-sustaining chain reaction), र अणुहरूभित्र नयाँ तथा बलियो कार्बन-कार्बन बन्धन बनाउँछ — जुन कुनै पनि औषधीय अणुको मूल संरचनाको जग हो। यो प्रविधिको अर्को विशेषता के हो भने, यसले अणुको एउटा निश्चित भाग मात्र परिवर्तन गर्न सक्छ, बाँकी संवेदनशील भागहरूलाई नछोई। यसैले गर्दा यो औषधि निर्माणको अन्तिम चरणमा पनि सजिलै प्रयोग गर्न मिल्छ — जुन काम परम्परागत विधिले गर्न सक्दैनथ्यो।
हालसम्म औषधिको साना अंश मात्र परिवर्तन गर्न पनि सम्पूर्ण अणु भत्काएर फेरि नयाँबाट बनाउनुपर्ने बाध्यता थियो — जसमा महिनौं समय र महँगो, विषाक्त रसायन खर्च हुन्थ्यो। प्यालेडियम जस्ता प्रयोगमा ल्याइने धातु उत्प्रेरकको मूल्य नै प्रति किलोग्राम लगभग ३० हजार डलरसम्म पर्न सक्छ, साथै यसले विषाक्त फोहोर पनि उत्पन्न गर्थ्यो।
नयाँ प्रविधिले भने यो सम्पूर्ण झन्झट हटाइदिन्छ। सस्तो एल ई डी प्रकाशले नै काम गर्ने भएकाले औषधि विकासको लागत घट्ने, समय बच्ने र वातावरणमाथिको असर पनि कम हुने विश्वास वैज्ञानिकहरूले गरेका छन्।
टोलीले यो प्रविधि उद्योगमा व्यापक रूपमा प्रयोग हुने 'कन्टिन्युअस-फ्लो' प्रणालीमा पनि लागू हुन सक्ने पुष्टि गर्न औषधि कम्पनी "अस्त्रज़नेका" सँग सहकार्य गरी परीक्षण गरेका छन्।
रोचक कुरा के छ भने, विज्ञानका थुप्रै ठूला आविष्कार यसरी नै संयोगवश भएका छन्। एलेक्जान्डर फ्लेमिङले प्रयोगशालाको प्लेटमा फंग संक्रमण भएपछि पेनिसिलिन पत्ता लगाएका थिए। त्यसैगरी रोय प्लङ्केटले रेफ्रिजरेन्ट ग्यासमा प्रयोग गर्दा गल्तीले टेफ्लोन बनाएका थिए। क्याम्ब्रिजको यो खोज पनि त्यस्तै एउटा "सुखद संयोग" को नयाँ उदाहरण बनेको छ, जसले भविष्यमा औषधि निर्माण प्रक्रियालाई नै फेरबदल गर्न सक्ने देखिन्छ।
