काठमाडौं। निजामती सेवाको सचिव तहमा बढुवा गर्दा सरकारले प्रशासन समूहलाई जति सतर्कता देखाउँछ, प्राविधिक समूहप्रति त्यति नै बेवास्ता गर्ने गरेको गुनासो प्राविधिक कर्मचारीहरूको बढ्दै गएको छ। हालसालैका बढुवाका निर्णयहरू केलाउँदा यो गुनासो पुष्टि हुन्छ। नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भदौ महिना मै भइसकेको छ, तर प्राविधिक तर्फका वरिष्ठ सहसचिवहरु भने वर्षौंदेखि बढुवाको पालो कुरेर बरेन्डामै बसिरहनुपरेको छ, जबकि सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिसकेको छ। यसैबीच स्वतन्त्र सञ्चारमाध्यमहरूले समेत प्रशासन समूहका सहसचिवहरू नियमित रूपमा सचिव पदमा बढुवा भइरहँदा प्राविधिक तर्फको बढुवा प्रक्रिया भने लामो समयदेखि ठप्प रहेको र दरबन्दी रिक्त हुँदासमेत सिफारिस तथा पदोन्नति नभएका कारण वर्षौंदेखि सेवारत वरिष्ठ सहसचिवहरूको मनोबल खस्किएको रिपोर्ट गरिसकेका छन्।
आगामी असोज महिनाको दोस्रो हप्तामा अवकाश पाउन लागेका सर्जु बैद्य र गोपाल शर्माको ठाउँ रिक्त हुँदै गर्दा समेत प्राविधिक तर्फबाट सचिव बढुवाको कुनै सुरसार देखिएको छैन। यो अन्योल थप गहिरिनुको एउटा कारण उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा देखिएको हालैको घटनाक्रम पनि हो। गत भदौ १ गते मन्त्रिपरिषद् बैठकले सोही मन्त्रालयकी सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय गर्यो। यो निर्णय जलस्रोत तथा सिँचाइ विभागमा भएको सि.डि.ई.हरूको नियमित सरुवालाई लिएर मन्त्रालय र विभागभित्र देखिएको असन्तुष्टिसँगै आएको हो। दवाडी सचिव पदमा बढुवा भएदेखि करिब साढे दुई वर्षसम्म उक्त जिम्मेवारीमा रहेकी थिइन्, र जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सचिवहरूको सूचीमा उनी अपेक्षाकृत कान्छो सचिवका रूपमा गनिन्थिन्।
केही असन्तुष्ट कर्मचारीहरूले सोही सरुवा प्रकरणलाई मिडियामा उजागर गरेपछि सचिव दवाडीलाई नेपाल ट्रस्टमा पठाइयो। तर उनको ठाउँमा को आउने भन्ने विषयमा भने सरकार अझै अन्योलमै देखिन्छ। यस विषयमा प्राविधिक कर्मचारीहरूको बुझाइ के छ भने, मुख्य सचिवको जिम्मेवारी परम्परागत रूपमा प्रशासन समूहकै हातमा रहने गरेकाले सोही समूहले प्राविधिक तर्फको वृद्धि–विकासमा जानाजानी पहल नगरेको हुनसक्छ। कसैलाई काखमा राख्ने र कसैलाई पाखामा पन्छाउने यस्तो प्रवृत्तिले प्राविधिक कर्मचारीको मनोबलमा नकारात्मक असर पार्ने सम्बद्ध क्षेत्रका जानकारहरूको ठम्याइ छ।
जिम्मेवारीको पर्खाइमा रहेका प्राविधिक सहसचिवहरूको सूची लामो छ। एक्लै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मात्रै हाल नौ जना प्राविधिक सहसचिव जिम्मेवारी विना बरेन्डामा बसिरहेका छन् भने बस्ने कोठा र कुर्शीको समेत उचित व्यवस्था गरिएको छैन।
१. डा. जगदीश्वर कर्माचार्य
२. जीवत्स मण्डल
३. मित्र बराल
४. कुसाङ शेर्पा
५. खिलानाथ दाहाल
६. डा. सन्तोष कैनी
७. रमेश सिंह
८. सुरेन्द्र पौडेल
९. गोकर्ण पन्थ
हाल सचिव पदको बढुवामा वरियताको पहिलो नम्बर मा डा.जगदिश्वरमान कर्माचार्य पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा नबिनराज सिंह रहेका छन्। यी दुबै जनाले सह सचिव पदमा मात्र करिव १३ बर्ष बिताई सकेका छन् भने मिना श्रेष्ठ ,पदम मैनाली, सुशील आचार्य, सन्दीप देव लगायतका सिनियर सहसचिवहरु सचिवको पर्खाईमा रहेका छन् ।
निजामती सेवाभित्रै लामो समयदेखि उठ्दै आएको यो विसंगति संस्थागत सुधारविना समाधान हुने देखिँदैन। जबसम्म बढुवा समितिलगायतका संयन्त्र प्राविधिक समूहप्रति पनि प्रशासन समूहसरह उत्तिकै संवेदनशील र सक्रिय हुँदैनन्, तबसम्म योग्य र अनुभवी प्राविधिक जनशक्ति सचिवको कुर्सीसम्म पुग्न वर्षौं पर्खिरहनुपर्ने अवस्था कायमै रहनेछ।
