२०८३ आश्विन २ गते शुक्रवार

images
  • समाचार
  • ग्यासको चर्चामा ओझेल परेको चिनी अभाव,...

ग्यासको चर्चामा ओझेल परेको चिनी अभाव, उपभोक्ता मारमा

ग्यासको चर्चामा ओझेल परेको चिनी अभाव, उपभोक्ता मारमा

बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३

  • सरकार भन्छ— अभाव छैन; बजार भन्छ— पसलमै छैन

    काठमाडौँ । राजधानीमा खाना पकाउने ग्यास (एलपिजी) को अभावले गर्दा सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनिरहेका बेला अर्को एउटा अत्यावश्यक उपभोग्य वस्तु "चिनी"को अभाव भने सार्वजनिक बहसमा ओझेल परेको छ।

    गत केही दिनयता राजमार्गमा गएको पहिरोका कारण आपूर्ति शृंखला अवरुद्ध हुँदा उपत्यकामा ग्याससँगै चिनीको आपूर्तिमा समेत असर परेको छ। ग्यास नपाएर चुलो बल्न नसकेको समाचार सञ्चारमाध्यममा प्राथमिकतासाथ आइरहँदा, पसल-पसल धाउँदा पनि एक किलो चिनी नपाएका उपभोक्ताको आवाज भने त्यत्तिकै मात्रामा सुनिएको छैन।

    उपभोक्ताका अनुसार सामान्य किराना पसलमा मात्र नभई उपत्यकाका ठूला डिपार्टमेन्ट स्टोरहरूमा समेत चिनी पाउन मुस्किल परेको छ। कतिपय स्टोरमा चिनीको र्‍याक नै रित्तो देखिएको छ भने कतिपयले प्रतिव्यक्ति खरिद परिमाण नै तोकेका छन्।

    "ग्यासको लाइनमा बस्नु त छँदै छ, अब चिनीका लागि पनि पसल-पसल चहार्नुपर्ने भयो," कीर्तिपुरका एक उपभोक्ताले भने, "दसैं आउनै लाग्यो, अझै के के नहुने हो ?"

    चाडपर्वको मुखमा चिनी, खाने तेल, दाल र चामलजस्ता अत्यावश्यक खाद्यवस्तुको माग स्वाभाविक रूपमा बढ्ने गर्छ। यस्तो बेला आपूर्ति प्रणालीमा सानो अवरोध आउनासाथ बजारमा त्रास फैलिने र त्यसैको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गरिने प्रवृत्ति दोहोरिँदै आएको छ।

    बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हस्तक्षेप गरेको थियो। बजारमा चिनी कालोबजारी हुन थालेपछि विभागले साल्ट ट्रेडिङमार्फत मूल्य निर्धारण गर्ने निर्णय गर्दै ठूला डिपार्टमेन्ट स्टोरमा प्रतिकेजी ११० रुपैयाँ मूल्य तोकेको हो। 

    चिनीको सहज उपलब्धता सुनिश्चित गर्न विभागले साल्ट ट्रेडिङसँग समन्वय गरी मौज्दात तथा वितरण प्रणालीलाई चुस्त बनाउने तयारी गरेको छ। अनुचित नाफाखोरी गर्ने र कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्नेउपर उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ। सञ्चारमाध्यममा आएका अभावसम्बन्धी समाचारप्रति प्रतिक्रिया जनाउँदै विभागले भने बजारमा चिनीको कुनै अभाव नरहेको दाबी गरेको छ।

    विभागले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको र चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेको उल्लेख छ। साथै अभाव हुने आशंकामा अनावश्यक रूपमा बढी परिमाणमा सञ्चय नगर्न विभागले आम उपभोक्तालाई आग्रह गरेको छ। 

    तर सरकारी दाबी र बजारको यथार्थबीच खाडल देखिएको छ। एकातिर विभाग एक हजारभन्दा बढी बिक्री केन्द्रमा चिनी उपलब्ध रहेको बताइरहेको छ भने अर्कातिर उपभोक्ता ती केन्द्रमै पुग्दा चिनी नपाएको गुनासो गरिरहेका छन्। तोकिएको मूल्यमा बिक्री गर्नुपर्ने भएपछि कतिपय स्टोरले चिनी बिक्रीमै नराखेको र उपभोक्ता पुनः खुला बजारको चर्को मूल्यमा किन्न बाध्य भएको आरोप पनि लागेको छ। उपभोक्ता अधिकारकर्मीहरूले सरकारले विज्ञप्ति जारी गरेर मात्र नपुग्ने, बिक्री केन्द्रमा वास्तवमै तोकिएको मूल्यमा चिनी उपलब्ध छ कि छैन भनी नियमित अनुगमन गर्नुपर्ने बताएका छन्।

    चिनी र ग्यास दुवैको अभावको मुख्य कारण राजमार्गमा गएको पहिरो र त्यसले निम्त्याएको ढुवानी अवरोध हो। उपत्यकामा हुने आपूर्ति मुख्यतः राजमार्गमै निर्भर रहेकाले सडक अवरुद्ध हुनासाथ आपूर्तिमा तत्काल असर पर्ने गर्छ। चाडपर्व नजिकिँदै गर्दा माग झन् बढ्ने निश्चित भएकाले सरकारले ढुवानी मार्ग सुचारु गर्ने, मौज्दात बढाउने र बजार अनुगमन प्रभावकारी बनाउनेतर्फ तत्काल ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend